
पूर्णपुष्टि, फागुन १४ । उदयपुरमा मालबाहक ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाईकल दुर्घटनाहुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका ६ नेपालटारका ३४ बर्षीय रत्नकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डएसपी)हरिनन्दन चौधरीक अनुसार आईतबार बिहान करिब १० बजेको समयमा घरबाट गाईघाट तर्फ आउँदै गरेको तामाङ त्रियुगा नगरपालिका वडा नं.–८ झोडामा मालवाहक ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेका थिए । एकै दिशातर्फ जादैँ गरेको १–०५–०१ क ००३५ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा तामाङ सवार को २८ प ७०८६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा परेका तामाङलाई तत्काल उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल उदयपुरमा लगिएको थियो । तामाङको उपचारको क्रममा राती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाईकल पछाडी सवार रत्नको श्रीमती ३३ बर्षीय उर्मिला तामाङ घाईते भएकी छन् । उनको दाहीने हातमा चोट लागेको छ । उर्मीला भने सामान्य उपचारपछि घर फर्किएकी छन् ।
दुर्घटनाग्रस्त मोटरसाइकल अस्थायी प्रहरी पोस्ट चुहाडेमा राखिएको छ भने मोटरसाईकलसँग ठोकिने ट्रक र चालक त्रियुगा नगरपालिका ११ का ४० वर्षीय विनोदकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका ट्रक र चालकमाथि कानुनी प्रक्रियाका लागि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
