Wednesday, May 27News That Matters

उदयपुरमा लकडाउनसंगै क्वारेन्टाइन र आइसोलेशन तयारी

पूर्णपुष्टि, चैत १८ गते । 

उदयपुरमा लकडाउन प्रभावकारी बनाउने सरकारी पहलसंगै कोरोना भाइरस संक्रमित विरामी र शंकास्पद मानिसहरुका लागि चेकजाँच तथा उपचार गर्ने क्वारेन्टाइन तथा आइसोलेशन बनाउने काम अगाडी बढिरहेको छ । हालका लागि जिल्लाको हकमा पर्याप्त हुनेगरी तयार भएको जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।

गाउँगाउँमा क्वारेन्टाइन बन्नुलाई सर्बसाधारणले सकारात्मकरुपमा लिएका छन् । क्वारेन्टाइनबारे सकारात्मक धारणा जगाउन र त्यसलाई ब्यवस्थित बनाउनुपर्ने चौदण्डीगढी नगरपालिका ७ का चेवान राईले बताउनुभयो । जिल्लाको आठै पालिकामा क्वारेन्टाइन बनाउने प्रशासनले परिपत्र गरेसंगै स्थानीय सरकारले वडावडासम्म क्वारेन्टाइन बनाएको छ । जिल्ला अस्पताल, गाइघाट सिभिल अस्पताल, चौदण्डीगढी नगरपालिका र बेल्टार स्वास्थ्यचौकीमा आइसोलेशन तयारी अवस्थामा छ । हाल जिल्लामा ३ सय ७५ वटा क्वारेन्टाइन  र ३४ बेडको आइसोलेशन बनेको प्रमुख सुवेदीले बताउनुभयो ।

बाहिरदेशबाट आएका तथा संकास्पदलाई क्वारेन्टाइनमा र विरामीको लक्षण देखिएकालाई आइसोलेशनमा राख्न सुरु गरिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार बेलसोत क्वारेन्टाइनमा २६, त्रियुगा नगरपालिकाले मोगिडामा बनाएको क्वारेन्टाइनमा ३ र रौतामाइले मुर्कुचीमा बनाएको क्वारेन्टाइनमा १ गरी हाल ३० जना क्वारेन्टाइनमा छन् भने जिल्ला अस्पतालको आइसोलेशनमा १ जना रहेका छन् ।

चौदण्डीगढीको वडा नं. ५ सुन्दरपुर स्वस्थ्यचौकीमा लापरवाहीढंगले टेबुल जोडेर पनि क्वारेन्टाइन बेड बनाइएको भेटिएको छ । त्यस्ता सुधार आवश्यक रहेको अनुगमनटोलीले सुझाएको छ । साथै स्वस्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामग्रीहरुको कमी रहेको गुनासो स्वस्थ्कर्मीहरुको छ । एक स्वस्थ्यकर्मी स्वस्ती खतिगडाले आफुहरु तदारुक्ताका साथ काम गरिरहेको भएपनि ढुक्क हुने किसिमले व्यक्तिगत सुरक्षाका साधनहरु पाउन नसकेको गुनासो गर्नुभयो । पछिल्लो समय प्रदेश र संघीय सरकारले क्वारेन्टाइन मापदण्डअनुरुप सुविधा सम्पन्न र व्यवस्थित हुन भनेको छ । जिल्ला जनस्वस्थ्यले अनुगमन गर्दा बेलका नगरपालिका र अन्य पालिका केन्द्रहरुका क्वारेन्टाइन मापदण्डअनुरुपकै भएपनि वडाहरुमा बनेका अधिकांश क्वारेन्टाइनहरु त्यस किसिमका भेटिएनन् । जनस्वस्थ्यले त्यस्ता थप सुधारका लागि सुझाव दिएको जनस्वस्थ्य प्रमुख सुवेदीले बताउनुभयो ।

पछिल्लो समय जिल्लाबासीमा लकडाउन पालना र कारोना भाइरस संक्रमणप्रतिको सचेतना बढेसंगै क्वारेन्टाइनप्रति सकारात्मक धारणा बढेको छ । तर अझै पनि बाहिर देशबाट आएका र संकास्पदहरुले दुइ हप्ता क्वारेन्टाइनमा बसेर आफु, परिवार र सिंगो देशलाई सुरक्षित गर्नुपर्छ भन्ने भावना जगाउन जरुरी रहेको नागरिक समाजका अगुवा भरत खड्काले बताउनुभयो ।