Monday, July 6News That Matters

उदयपुरमा वडाध्यक्ष कप फुटबल बसाहाले जीत हात पार्यो

पूर्णपुष्टि,माघ २

त्रियुगा नगरपालिका–१२ को आयोजनामा सुरु दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा चौदण्डीगढी नगरपालिका–४ बसाहाले विजयी हात पारेको छ । वडा नं. १२ को आयोजनामा विसनपुरस्थित फुटबल खेल मैदानमा बिहीबार दिउँसोदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा बसाहाले त्रियुगा नगरपालिका–१३ असारीलाई ५–४ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

निर्धारित समयमा दुवैपक्षबाट गोल हुन नसकेपछि टाईब्रेकरबाट प्रतिस्पर्धा गरेर नतिजा निकाल्नु परेको त्रिनपा–१२ का खेलकुद विकास समिति संयोजक विशाल राईले बताउनुभयो । राईका अनुसार बसाहाले असारीलाई टाईब्रेकरमा ५ गोल गरेको थियो भने असारीको टोलीले ४ गोल मात्र गर्न सफल भएको थियो ।

वडाध्यक्ष जयविक्रम राईले उद्घाटन गरेको प्रतियोगितामा म्यान अफ द म्याचको उपाधि बसाहाकै सुजन राईले पाएका वडाध्यक्ष जयविक्रम राईले जानकारी दिनुभयो । राईलाई ५ सय नगदसहित ट्रफि प्रदान गरिएको छ । आउँदो  १ हप्ता सम्म चल्ने प्रतियोगितामा ८ वडा समूहको सहभागिता हुने छ ।

प्रतियोगिताका विजेतालाई ३० हजार नगद र ट्रफि प्रदान गरिने छ भने दोस्रो हुनेले २० हजार नगद पुरस्कार पाउने व्यवस्था गरिएको आयोजक वडा सदस्य ध्वजकुमार राउतले बताउनुभयो ।