Tuesday, April 21News That Matters

उदयपुरमा वाइसियलको श्रम तथा उत्पादन अभियान सुरु (फोटो सहित)

पूर्णपुष्टि, साउन १ । उदयपुरमा नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लीग (वाईसियल) ले गाईघाटस्थित थरुहट रंगशाला सरसफाई तथा संरचनाहरुको मर्मत गरी श्रम तथा उत्पादनमा वाइसियल अभियान सुरु गरेको छ । बिहिबार वाइसियल जिल्ला समिति उदयपुरको आयोजना तथा त्रियुगा नगर कमिटिको सहकार्यमा २ महिने अभियान अन्तर्गत पहिलो दिन रंगशाला भित्र पलाएको झारपात छाटकाट, भत्किएको तारको बार मर्मत तथा नाली सरसफाई गरिएको हो ।

वाइसियलको केन्द्रीय सदस्य ज्ञानेन्द्र मगरले बिभिन्न क्षेत्रमा वाइसियलको सहभागीता जुटाउने उदेश्यका साथ श्रम अभियानको सुरुवात गरिएको बताएका छन् । २ महिना सम्म चल्ने अभियानमा वाइसियलको नेतृत्वमा सबै युवाहरुलाई श्रमको अभियानमा जुटाएर अगाडी बढाउने उनले बताए । श्रम बिना देशको विकास असम्भव हुने महसुस गर्दै संगठनले यो अभियान संचालन गरेको बताए ।

वाइसियल प्रदेश कमिटिको सह–सचिव तथा उदयपुरका संयोजक इश्वर पोखरेलले केन्द्रको निर्णय अनुसार श्रम तथा उत्पादनमा वाईसियल अभियान अन्तर्गत रंगशालाको सरसफाई सुरु गरेको बताएका छन् । जिल्लाको आठ ओटै पालिकामा श्रम अभियान संचालन गर्ने र युवाहरुलाई संगठित रुपमा उत्पादन र श्रममा जोड्ने उनले बताए । आजदेखी सुरु भएको २ महिने अभियान असोज १ गते सम्म संचालन हुनेछ ।