
पूर्णपुष्टि, साउन २७ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ९ अजगरामा बिषालु जंगली च्याउ खाएका एकै परिवारका ८ जना बिरामी भएका छन भने ३ जनाको अवस्था गम्भिर रहेको छ ।
इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार बिषलु च्याउ खाएर बिरामी हुनेमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ५५ वर्षीय लल्कु सदा, ३१ वर्षीया संजु सदा, २९ वर्षीया मन्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा र ११ वर्षीया सन्जा सदा रहेका छन् ।
वडा नम्बर ९ का अध्यक्ष तथा चौदण्डीगढी नगरपालिकाका प्रवक्ता प्रकाश राउतले ८ जना मध्ये ३ जनाको अवस्था गम्भिर रहेको जानकारी दिए । उनका अनुसार गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर रहेकोले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको छ । अन्य ५ जनाको भने नगर अस्पताल बेल्टारमा नै उपचार भईरहेको प्रहरीले जनाएको छ ।
