Monday, June 22News That Matters

उदयपुरमा सवारी, पसल बन्द बारे आयो प्रशासनको यस्तो निर्णय

पूर्णपुष्टि, वैशाख १८ ।

बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गर्दै भोलीदेखि एकसाता उदयपुरमा यातायात बन्द हुने भएको छ । भोली आइतबार बेलुका  ८ बजे देखि २५ गते बेलुका ८ बजेसम्मका लािग चार पांग्रे र तीन पांग्रे सबै किसिमका सवारी साधन बन्द हुने जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । सरकारी कर्मचारीहरुको सवारी साधन भने परिचय पत्रसहित हिड्न पाउनेछ भने मोटरसाईकल एकजना मात्र सवार भई हिड्न पाउनेछ । खाद्यन्न तथा अत्यावश्यक बस्तु, ढुवानी सेवा गर्ने सवारी साधनहरु निर्वाद रुपले सञ्चालन हुन पाउनेछन् ।

उदयपुर जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन समिति (डीसीसीएमसी) को आज प्रशासनमा बसेको बैंठकले यातायात सम्बन्धी यस्तो निर्णय गरेको हो ।

साथै बैंठकले बजार सञ्चालन, नियन्त्रण तथा नियमनका लागि जिल्ला भित्र लाग्ने हटियाहरु बन्द गर्ने र जिल्ला भित्रका मुख्य बजारहरु गाईघाट, बेल्टार, कटारी, रामपुर, मुर्कुची विहान १० देखि अपरान्ह ३ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय भएको छ ।

यस्तो बेला बजारमा हुनसक्ने कालाबजारी तथा कृतिम अभावलाई प्रशासनले कडा निगरानी राख्ने, सरोकारवालाहरुसंग जिल्ला प्रहरीले कडा अनुगमन गर्ने निर्णय पनि भएको छ ।

स्थानीय तहहरुसंग समन्वय गरी स्वास्थ्य कार्यालयले कोरोना परिक्षणको दायरा बढाउने, निर्णय बमोजिम काम नभएमा संक्रमण ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमाजिम प्रमुख जिल्ला अधिकारीले कारवाही गर्ने निर्णय भएको छ ।

त्यसैगरी प्रशासन कार्यालयका एक अधिकृतलाई कोरोना पोजेटिभ पुष्टि भएकाले हाललाई अत्यावश्यक सेवा बाहेक प्रशासनको सबै काम बन्द गर्ने निर्णय भएको छ । प्रशासनका अन्य सबै कर्मचारीहरुलाई पिसिआर परिक्षण गर्ने र परिक्षणको नतिजा नआएसम्म हाललाई आगामी २१ गतेसम्म अत्याबश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय भएको हो ।