
पूर्णपुष्टि/१७ माघ, २०८२ ।
पर्यटन प्रवद्र्धन, साहसिक खेलकुदको विकास, वातावरण संरक्षण तथा युवाहरूमा सकारात्मक ऊर्जा जागरणको उद्देश्यले उदयपुरमा साईकल टुर “राइड टु कोशी २०८२” आज सम्पन्न भएको छ ।
उदयपुर जिल्ला साइक्लिङ संघको आयोजना तथा त्रियुगा नगरपालिका र नेपाली सेनाको पशुपतीप्रसाद गण, बोक्सेको सहयोगमा कार्यक्रम भएको हो । हिजो विहान जिल्ला सदरमुकाम गाईघाटबाट सुरु साईकल टुर त्रियुगा नगरपालिका १५ धाप्लाङसम्मको यात्रा गरी आज विहान समापन गरिएको आयोजकले जनाएको छ ।
आयोजक संघका अध्यक्ष माधव बानियाँका अनुसार गाईघाटदेखि धाप्लाङसम्मको आउनु–जानु ६० किलोमिटर दुरी पार गर्दै टुर पुरा भएको हो । साइकल टुरमा देशको विभिन्न ठाउँका २५० जना साइक्लिष्टहरुको सहभागिता रह्यो । सो अवसरमा धाप्लाङघाटमा कोशीमा र्याप्mटिङसमेत भएको थियो ।
त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, उपमेयर महेश्वरी राई, नेपाली सेनाको पूर्वी पृतना इटहरीका पृतनापती गौरबकुमार केसी, १८ नं. बाहिनी भुल्केका बाहिनीपती विमल बस्नेत र पशुपतीप्रसाद गणका गणपति मनोज कार्कीसमेतले कार्यक्रमको अवलोकन गरेका थिए ।
कार्यक्रमले कोशी क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक पहिचान तथा सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि मद्दत गरेको छ । यस्ता राइड तथा साहसिक गतिविधिहरूले युवाहरूलाई स्वस्थ जीवनशैलीतर्फ उन्मुख गराउने र स्थानीय अर्थतन्त्र, पर्यटन र समुदायको समग्र विकासमा टेवा पुर्याउने त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले बताए ।
पर्यटनको हिसावले यो कार्यक्रम महत्वपूर्ण बनेको र पर्यटन प्रवद्र्धनमा यस्ता कार्यक्रमलाई नेपाली सेनाले पनि विगतदेखि नै सहयोग गर्दै आएको गणपती कार्कीले बताए । “उदयपुर पर्यटनको राम्रो सम्भावना बोकेको ठाउँ भएकाले यसको विकास र प्रवद्र्धनमा हाम्रो सहयोग रहने गरेको छ ।” गणपती कार्कीले भन्नुभयो ।
त्रियुगा नगरपालिकाले पर्यटन विकास र प्रवद्र्धनमा ध्यान दिदै यस्ता कार्यक्रमलाई प्रवद्र्धन गर्दै आएको उनले बताए । पालिकाले र्याफ्टिङ संचालनका लागि स्थानीयलाई तालिम प्रदान गरिएको र दुई वटा कायक खरिद गरेको छ । प्याराग्लाईडिङ संचालनका लागि स्थानीय युवालाई प्रोत्साहन गरेको छ भने पदयात्राको लागि विभिन्न रुट र स्थान पहिचान गरि संचालनमा ल्याउने तयारी छ । निकट भविष्यमा मेयरसंग जनता कार्यक्रम अन्तर्गत त्रियुगा रन (हाईकिङ) कार्यक्रम संचालन गर्ने जनाइएको छ ।
