
पूर्णपुष्टि, जेष्ठ २९
करेन्ट लगाएर माछा मार्ने क्रममा इटहरीमा उदयपुरका एक दम्पतिको मृत्यु भएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका २० तरहराको चौतारी चौकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा श्रीमान श्रीमती दुवैको मृत्यु भएको हो।
मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा कोठा गरी बस्ने २६ बर्षीय हेमसेर राई र निजकै श्रीमती २३ बर्षीया सर्मिला राई रहेका छन् ।
आज बिहान ६ बजे स्थानियले घर नजिकै खार्सल खोलामा मृत अबस्थामा फेला परे पछी प्रहरीलाई खबर गरे पश्चात ईलाका प्रहरी कार्यालय ईटहरी र प्रहरी चौकी तरहराबाट प्रहरी टोली घटना स्थल तर्फ खटेका थिए ।
उनिहरुले आफु बसेको घरबाट बिजुलीको लाईन जोडी खोलामा लगेको भेटिएको थियो । उनिहरुले गत राती खोलामा गई माछा मार्न खोज्दा करेन्ट लागी मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । कोठामा उनिहरुहरुको ४ बर्षीया छोरी मात्र रहेकोले बिहान मात्र घटनाको बारेमा जानकारी पाईएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
