
पूर्णपुष्टि, जेष्ठ २९
देशको ३ प्रदेशमा प्रवेश गरेको मनसुन केहि दिनबाट देशैभर सक्रिय रुपमा फैलिने भएको छ ।
शुक्रबार नेपालको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा प्रवेश गरेको मनसुन केही दिनमा देशभर फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हावापानी प्रारुपको आधारमा यस वर्षको मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थान तथा प्रदेश १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने विभागको अनुमान छ ।
विभागका प्रवक्ता सुमनकुमार रेग्मीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मनसुनको आगमनसँगै यस वर्ष बाढी र पहिरोको जोखिम धेरै हुने सम्भावना रहेको उल्लेख गरेका छन् । ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदी तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रमा डुबान समेत हुन सक्ने सम्भावना भएकाले मनसुनको अवधिभर सर्वसाधारण तथा सरोकारवाला निकायहरुलाई आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।
