Tuesday, July 14News That Matters

उद्यमीलाई व्यवसाय प्रवर्द्धनका सहायक सामग्री वितरण

पूर्णपुष्टि/उदयपुर, असार ३० । त्रियुगा नगरपालिकाले नगरभित्र रहेका उद्यमी तथा स्वरोजगार व्यवसायीहरूको व्यवसाय प्रवर्द्धन र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले व्यवसाय प्रवर्द्धनका सहायक सामग्री वितरण गरेको छ । नगरपालिकाले सञ्चालन गरेको उद्यम विकास कार्यक्रमअन्तर्गत विभिन्न पेशा तथा व्यवसायमा संलग्न उद्यमीहरूलाई आवश्यक उपकरण तथा सहायक सामग्री हस्तान्तरण गरिएको हो ।

सहायक सामग्री कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवार,  नगर प्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले उद्यमशीलताको विकास, रोजगारी सिर्जना तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । उहाँले वितरण गरिएका सामग्रीको सदुपयोग गर्दै व्यवसायलाई थप विस्तार गर्न उद्यमीहरूलाई आग्रह गर्नुभयो । उपप्रमुख महेश्वरी राईले महिलासहित सबै उद्यमीलाई आर्थिक रूपमा सबल बनाउन नगरपालिकाले विभिन्न सीपमूलक तथा आयआर्जनका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले स्थानीय तहले उद्यमशीलता प्रवर्द्धनका लागि गरेका प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै प्राप्त सामग्रीलाई उत्पादन र आयवृद्धिसँग जोड्न उद्यमीहरूलाई आग्रह गर्नुभयो । सामग्री प्राप्त गरेका उद्यमीहरूले व्यवसाय सञ्चालनमा आवश्यक उपकरण उपलब्ध भएपछि काम गर्न थप सहज हुने विश्वास व्यक्त गरेका छन् ।