Sunday, April 19News That Matters

एआई युक्त आइफोन १६ नेपाली बजारमा

पूर्णपुष्टि, असोज २३ ।  एप्पलको बहुप्रतिक्षित आइफोन १६ सिरिज आजदेखि नेपाली बजारमा बिक्री सुरु भएको छ । एक महिनाअघि अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा सार्वजनिक गरिएको यो सिरिज नेपाली उपभोक्ताले पनि अब सहजै किन्न पाउने भएका हुन् ।

नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनेरेशन नेक्स्टका निर्देशक निकिता भिमसरियाले काठमाडौंमा न्यूरोड र बबरमहलसहित पोखरा, विराटनगर, बुटवल, बिर्तामोड र बारामा रहेका अधिकृत बिक्रेताहरूबाट यी फोनहरू किन्न सकिने जानकारी दिइन् ।

आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रोम्याक्स गरी चार मोडेल रहेको यो सिरिजमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विशेष प्रयोग गरिएको छ । एप्पलका अनुसार यो एआई सिस्टमले टेक्स्ट, पिक्चर र भिडियोमा सपोर्ट गर्नेछ, जसबाट सिरी पहिलेभन्दा अझै प्रभावकारी हुने दाबी गरिएको छ ।

नयाँ सिरिजमा क्यामरा एक्सन कन्ट्रोलका लागि साइड प्यानलमा विशेष बटन राखिएको छ । यसबाट फोटो खिच्ने, भिडियो बनाउने, जुम गर्नेदेखि एक्सपोजर र डेप्थ कन्ट्रोल जस्ता काम सहजै गर्न सकिनेछ । ४८ मेगापिक्सेलको डुअल क्यामरा सिस्टम भएका यी फोनहरूमा टेलिफोटो लेन्स २ देखि ५ गुणासम्म जुम क्षमता रहेको छ ।

एआईका लागि विशेष रूपमा डिजाइन गरिएको ए१८ चिप प्रयोग गरिएका यी फोनहरूमा एकपटक चार्ज गरेपछि २७ देखि ३३ घण्टासम्म भिडियो हेर्न सकिने ब्याट्री क्षमता रहेको कम्पनीले जनाएको छ ।

सहज खरिदका लागि नबिल बैंक र ग्लोबल आईएमई बैंकमार्फत किस्ताबन्दीमा फोन किन्न सकिने व्यवस्था गरिएको छ । यससँगै एप्पल वाच सिरिज १०, एप्पल वाच अल्ट्रा २, इयरपड्स ४ र इयरपड्स म्याक्स पनि नेपाली बजारमा उपलब्ध गराइएको जेनेरेशन नेक्स्टले जनाएको छ । सन् २००७ मा पहिलो पटक सार्वजनिक गरिएको आइफोनको मूल्य ३९९ अमेरिकी डलर थियो । अहिले एप्पल विश्वकै सबैभन्दा धनी कम्पनीको सूचीमा पर्दछ र यसका उत्पादनहरूको लोकप्रियता निरन्तर बढ्दो छ ।