
पूर्णपुष्टि, चैत्र २८ । सहिद स्मारक ए डिभिजन लिगको एकै खेलमा पहिलो पटक १० गोल भएको छ । मंगलबार च्यासल मैदानमा भएको खेलमा मछिन्द्र एफसीका नायजेरियन फरवार्ड ओलावाले आफिजले ५ गोल गर्दा खुमलटार एफसीलाई ७–३ ले पराजित गरेको छ ।
जारी लिगमा खराब सुरुवात गरेको मछिन्द्रले तेस्रो जित निकाल्दै शिर्ष ६ मा स्थान बनाएको छ । अनुभवी प्रशिक्षक किशोर केसीको आगमनपछि मछिन्द्रले लगातार दोस्रो जित निकालेको हो । सात खेलबाट १२ अंक जोड्ेको मछिन्द्रले ३ जित निकाल्दा २ बराबरी खेलेको छ भने ३ खेल हारेको छ ।
मछिन्द्रको लागी ओलावलेले खेलको २४औ, २८औं र ५५औं मिनेटमा गोल गर्दै सिजनको पहिलो ह्याट्रिक पूरा गरे भने यस्तै ६२औं र ६७औं मिनेटमा पनि गोल गरे । यो सिजनको पहिलो ह्याट्रिक पूरा गरेका उनले यो ह्याट्रिक घाइते खेलाडी छिरिङ गुरुङप्रति समर्पित गरेका छन् । विमल घर्ती मगरले पहिलो हाफको इन्जुरी टाइममा र विजय भुजेलले ८६औं मिनेटमा गोल गरे । खुमलटारका लागि मेसुके ओलोमोउले खेलको ६१औं र ८१औं मिनेटमा गोल गरे भने स्टेफेन समिरले ७६औं मिनेटमा गोल गरेपनि हार भने टार्न सकेन् ।
जावलाखेलमाथि आर्मीको जित
मंगलबारै जावलाखेल युथ क्बललाई हराएर त्रिभुवन आर्मी एफसीले पनि ७ खेलबाट समान १२ अंक जोडेको छ । जावलाखेल युथ क्लबलाई १–३ ले पराजित गरेको आर्मी क्लब गोल अन्तरमा पाँचौ स्थानमा उक्लेको छ ।
सिजनको दोस्रो हार बेहोरेको जावलाखेलले भने शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ भने ७ खेलबाट १४ अकसहित दोस्रो स्थानमै छ । एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा जिलेस्पी जंग कार्कीको गोलमा आग्रता लिएको आर्मीको लागी ५२ औं मिनेटमा पेनाल्टी मार्फत नवयुग श्रेष्ठको गोलबाट आग्रता दोब्बर पारेको थियो ।
जावलाखेललाई खेलमा फर्काउने प्रयासमा ६२ औं मिनेटमा सुनिल खड्काले गोल गरेपनि ८० औं मिनेटमा सुदिल राईको गोलमा आर्मीले जित निश्चित गरेको हो ।
