
सुनिल राई, गाइघाट÷फागुन ७ ।
उदयपुरको थरुहट रंगशाला गाइघाटमा जारी एन्फा उमन्स च्याम्पियनसिपको फाइनलमा एपिएफ प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा संकटा फूटवल क्लबलाई ० गोलको विरुद्ध ३ गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
खेलको सुरुवाती १० औं मिनेटमा जर्सी नं १९ की रष्मी कुमारी घिसिङले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् भने त्यस लगत्तै २ मिनेटमा जर्सी नं १५ की अनिता केसीले गोल गर्दै अग्रता दोब्बर बनाइन् । ८७ मिनेटमा जर्सी नं १२ का गिता रानाले गोल गर्दै एपिएफलाई सहज जित दिलाईन् ।
पहिलो हाफमा २–० को अग्रतालाई सशस्त्रले कायम गर्न सफल भयो भने संकटाले जवाफी गोल गर्न सकेन । दोस्रो हाफको ४२ मिनेटमा सशस्त्रकी जर्सी नम्बर १२ की गीता राणाले तेस्रो गोल गर्दै टिमलाई सहज जित दिलाईन् ।
विदेशी खेलाडी सहितको टिम सङ्कटाले दोस्रो हाफमा सशस्त्रमाथि केहीबेर दबाब सिर्जना गरेको थियो । खेल राम्रो प्रदर्शन गरेको संकटाले केही राम्रो अवसर पाएपनि गोल गर्न सकेन । यस खेलको म्यान अफ द म्याच एपिएफ की जर्सी नं २ की मनमाया दमाई बनिन् । उनले नगद रु. १० हजार सहित ट्रफी र फ्लेक्स प्राप्त गरिन् ।
एपिएफले क्वाटरफाईनलमा आरएस रिसोर्ट पोखरालाई १९–० गोलको फराकिलो अन्तरले हराएको थियो भने आजको अन्तिम सेमिफाईनल खेलमा संकटालाई ३–० गोल अन्तरले हराउँदै फाईनलमा आर्मी सँगको भेट पक्का गरेको हो । यसअघि फाईनल पुगिसकेको त्रिभुवन आर्मी फुटबल क्लबले क्वाटरफाईनलमा न्युरोड टिमलाई ६–१ गोल अन्तरले हराएको थियो भने सेमिफाईनलमा नेपाल पुलिस क्बलाई १–० गोल अन्तरले हराएको हो ।
जम्मा १० टिम सहभागी मध्ये हालसम्मको खेलबाट गाइघाट फुटबल क्लव, एफ सी रियल, छहारी युथ क्लब, आर एस रिसोर्ट, न्यूरोड टिम, चर्च वोइज, नेपाल पुलिस क्लब र संकटा क्लब गरी आठ टिम वाहिरियो ।
फागुन ९ गते एपिएफ र आर्मी बिचको फाईनल खेल हुनेछ । यस च्याम्पियनसिपको विजेताले नगद रु. ७ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ३ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस च्याम्पियनसिपको उत्कृट ३ खेलाडीले जनही नगद रु. ५० हजार पुरस्कार प्राप्त गर्नेछ ।
