
सुनिल राई, गाईघाट÷पूर्णपुष्टि, फागुन ६ । उदयपुरको थरुहट रंगशाला गाईघाटमा जारी एन्फा उमन्स च्याम्पियनसिपको फाईनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबलाई शुन्य गोलको विरुद्ध १ गोलले हराउँदै त्रिभुवन आर्मी क्लबले फाईनलको यात्रा तय गरेको हो ।
खेलको सुरुवाती ७ औँ मिनेटमा आर्मीका लागी जर्सी नं. १५ की बिमला चौधरीले गरेको गोल नै जितका लागी निर्णायक गोल बन्यो । यस खेलको म्यान अफ द म्याच आर्मीका जर्सी नं. ३२ की दिपा शाही बनिन् । उनले नगद रु. ७ हजार ५ सय सहित मेडल र फ्लेक्स प्राप्त गरिन ।
पहिलो हाफमा १ गोलको अग्रता लिएको आर्मीले खेल सकिँदासम्म कायम राख्न सफल भएको हो । पुलिसले खेलको अन्तिम सम्मै प्रयास गरेपनि गोल गर्न सकेन । आज विभागीय टिमको खेल हेर्न दर्शकको भिड बढेको थियो । भोलीको खेल पनि रोचक र प्रतिष्पर्धी हुने आयोजकको दावी छ । भोली एपिएफ र संकटा फुटबल क्लब बिच हुने दोस्रो सेमिफाईनलको विजेताले आर्मीसँग भेट पक्का गर्नेछ ।
जम्मा १० टिम सहभागी मध्ये हालसम्मको खेलबाट गाइघाट फुटबल क्लव, एफ सी रियल, छहारी युथ क्लब, आर एस रिसोर्ट, न्यूरोड टिम, चर्च वोइज र नेपाल पुलिस क्लब बाहिरि सकेको हो । आगामी ९ गते फाईनल हुने छ । प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा रहेको छ । उपाधी विजेतालाई ७ लाख ५० हजार र उपविजेतालाई ५ लाख नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार रहेको छ । च्याम्पियनसिपको उत्कृट ३ जना खेलाडीलाई जनही नगद रु. ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

