
पूर्णपुष्टि, भदौ ३
नेकपा एमाले बिभाजनको असर प्रदेश नं १ मा पनि परेको छ । माधव नेपाल समूहले निर्वाचन आयोगमा अर्को पार्टी नेकपा एमाले समाजवादी पार्टी दर्ता गराउने भए सँगै प्रदेश १ मा राई नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
एमाले नेतृत्वको एकल सरकारको रुपमा रहेको शेरधन राई नेतृत्वको सरकार माधव समूह नेतृत्वले अर्को पार्टी खोल्ने भए सँगै हाल नेतृत्व रहेको प्रदेश नं १ को सरकार कम्जोरी देखिएको छ ।
प्रदेश नं १ मा एमाले विभाजनको असरले प्रदेशसभामा शेरधन राई नेतृत्वको सरकारले बहुमत गुमाउने निश्चित देखिएको छ ।
हाल प्रदेश १ प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका ५१ सांसद छन् । कुल ९३ प्रदेशसभा सदस्य कायम रहेको प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा पनि ४७ सांसद आवश्यक हुन्छ । तर, माधवकुमार नेपाल नेतृत्वको पार्टीमा एमालेका ५१ मध्ये १५ सांसद सामेल भएका छन् । योसँगै एमालेमा अब ३६ सांसदमात्र सीमित रहनेछन् । एमालेलाई बहुमतका लागि थप ११ सांसद आवश्यक हुने देखिन्छ । विद्यमान समीकरणमा एमालेलाई बहुमतको अंक गणित जुटाउन निकै कठिन देखिन्छ ।
माधवकुमार नेपाल पक्षको राम्रो पकड रहेको प्रदेश १ मा एमाले विभाजनसँगै मुख्यमन्त्री राई नेतृत्वको सरकारको विकल्प खोज्ने प्रक्रिया थालिने विपक्षी गठबन्धनका नेताहरु बताउँछन् ।
एमाले विभाजनपछि प्रदेश सभामा एमालेका ३६, काँग्रेसका २१, माओवादी केन्द्रका उपसभामुखसहित १५, नवगठित एमाले समाजवादीका १५, राष्ट्रिय समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १÷१ जना सांसद छन् ।
