
पूर्णपुष्टि, फागुन १६ । टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क पुनः एक पटक विश्वका सर्वाधिक धनी व्यक्तिको शीर्ष स्थानमा परेका छन् । ब्लुमबर्ग बिलियनेर इन्डेक्सको तथ्याकं अनुसार दोस्रो स्थानमा झरेका एलन मस्क पुन शिर्ष स्थानमा पुगेका हुन् ।
मस्कको सम्पत्तिमा २४ घण्टाभित्र ६.९८ अर्ब डलर वृद्धि भएको छ भने कुल सम्पत्ती १८७ अर्ब डलर पुगेको छ । हालसम्म शीर्ष स्थानमा बसेका फ्रान्सका अर्बपति बर्नार्ड अर्नाल्ट १८५ अर्ब डलरको कूल सम्पत्ति सहित दोस्रो स्थानमा झरेका छन् । पछिल्ला केही दिनदेखि मस्कको सम्पत्ति वृद्धि भइरहेको थियो, त्यसैले उनी पुनः शीर्ष स्थानमा पुग्ने सम्भावना प्रबल बन्दै गइरहेको थियो ।
मस्कले विश्वको सबैभन्दा धनी व्यक्ति र ईतिहासमा धेरै घाटा व्यहोर्ने व्यक्तिको रेकर्ड राखेका छन् । गत वर्षको अन्त्यमा मस्क २०० बिलियन डलरको सम्पत्ति गुमाउने पहिलो व्यक्ति बनेका थिए । उनको कुल सम्पत्ति नोभेम्बर २०२१ मा करिब ३४० बिलियन डलरबाट डिसेम्बर २०२२ मा १३७ बिलियनमा झरेको थियो ।
मस्कले ट्विटर किनेपछि प्रविधिमा फराकिलो बजार मन्दीको बीचमा गत वर्ष टेस्लाको स्टकमा तीव्र रूपमा गिरावट आएको थियो । इलेक्ट्रिक वाहन निर्माता टेस्लाको शेयर २०२३ सुरु भएदेखि भने बढेको छ।
