
पूर्णपुष्टि, जेठ २९ गते ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने सरकारले निर्णय गरेको छ । गतराती बसेको बैठकले (एसईई) परीक्षा नगर्ने र विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसदमा पेश हुने सङ्घीयता अनुरुपको शिक्षा ऐन पारित भएपछि माध्यमिक शिक्षाको कक्षा १० अन्तिम परीक्षाका सम्बन्धमा यो यसरुपमै दीर्घकालीन रुपमा व्यवस्थापन हुने जनाएको छ ।
शैक्षिक सत्र २०७६ को परीक्षा साविकब मोजिम २०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको भएता पनि कोरोना सङ्क्रमणको अवस्थालाई दृष्टिगत गरी कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत ५ गतेको निर्णयानुसार स्थागित भएको थियो ।
अहिले देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, कतिपय विद्यालयमा क्वरेन्टीन सञ्चालन गरिएको र रोगको सङ्क्रमणको जोखिमका बीच विद्यालयमा परीक्षा केन्द्र कायम गरी विगतमा झैँ परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमा नरहेको मन्त्रि पोखरेलले बताउनुभयो ।
यस सन्दर्भमा विद्यार्थीको अध्ययन निरन्तरता तथा माथिल्लो तहमा अध्ययनको अवसर सुनिश्चितताको दायित्वबोध गरेर मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
