Friday, June 5News That Matters

एसएसपी रमेश थापाको सरुवा, काठमाडौंको शान्ति सुरक्षा लगायत थुप्रै महत्वपूर्ण कामका सफल नेतृत्व पुरा

पूर्णपुष्टि सम्बाददाता
काठमाडौं, जेठ २२ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाको सरुवा भई प्रहरी प्रधान कार्यालयमा पदस्थापन भएको छ । एसएसपी थापाले २०८२ असोज ५ गतेदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । हिजाेबाट उनको सरुवा भई प्रहरी प्रधान कार्यालयमा पदस्थापन भएको हो ।

सरुवा पश्चात् उनले आफ्नो कार्यकालमा सहयोग, मार्गनिर्देशन र नेतृत्व प्रदान गर्ने प्रहरी महानिरीक्षक दान बहादुर कार्की प्रति आभार व्यक्त गरेका छन् । साथै उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक तथा सम्पूर्ण प्रहरी नेतृत्वप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

एसएसपी थापाले आफ्नो कार्यकालमा कानुनको प्रभावकारी कार्यान्वयन, नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति, पीडितलाई न्यायको सुनिश्चितता तथा प्रहरी–नागरिक सम्बन्धलाई थप सुदृढ बनाउन विशेष ध्यान दिए । ‘हाम्रो प्रहरी’ अभियान अन्तर्गत सञ्चालन गरिएका समुदाय–प्रहरी साझेदारी कार्यक्रमहरूले प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप नजिक बनाएका थिए । उनले आन्दोलनपछिको काठमाडौंको शान्ति सुरक्षा व्यवस्थापन, आम निर्वाचनको वातावरण निर्माण तथा सफल सञ्चालन, राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिताको सुरक्षा व्यवस्थापन र अनधिकृत बस्ती व्यवस्थापनजस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका छन् ।

एसएसपी थापाले आफ्नो कार्यकाल सफल बनाउन योगदान पुर्‍याउने प्रहरी अधिकृत तथा जवान, जिल्ला सुरक्षा समिति, स्थानीय तह, नागरिक समाज, समाजसेवी, सञ्चारकर्मी तथा सम्पूर्ण सर्वसाधारणप्रति आभार व्यक्त गरेका छन् । उनले संगठनले दिएको जिम्मेवारीलाई इमान्दारिता, व्यावसायिकता र निष्ठाका साथ पूरा गर्ने प्रयास गरेको उल्लेख गर्दै आगामी दिनमा पनि राष्ट्र, संगठन र नागरिकको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनी एसपी रहदा उदयपुरकाे प्रहरी प्रमुखकाे रुपमा सफल नेतृत्व पुरा गरेका थिए । उनले लागुअाैषध दुर्ब्यसन विरुद्धकाे अभियान, प्रहरी कार्यालय परिषरमा पार्क निर्माण, पुस्तकालय निर्माण लगायतका महत्वपूर्ण र उदाहरणीय कामहरु गरेका थिए ।