
पूर्णपुष्टि, पुष ६ । उदयपुरको चौदण्ढिगढी नगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत विद्यालयहरूलाई शिक्षक नियुक्ति, तलब भुक्तानी र छात्रवृत्ति सम्बन्धी पूर्व सहमति कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।
नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी नगरका २१ वटा संस्थागत विद्यालयहरूले शिक्षकलाई नियुक्ति पत्र दिने, तलब भत्ता बैंक मार्फत भुक्तानी गर्ने र १० प्रतिशत छात्रवृत्ति दिने सम्बन्धी पटक-पटकको सहमति पालना नगरेको जनाएको छ ।
नगर प्रवक्ता प्रकाश राउतका अनुसार विद्यालयहरूले शिक्षा ऐनमा भएको व्यवस्था र नगरपालिकासँग गरेको सहमति कार्यान्वयन नगरेकाले कारबाहीको दायरामा ल्याइने भएको हो । प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले धेरै विद्यालयहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ नदिएको र शिक्षकहरू ठगिएको मौखिक उजुरी आएको बताए ।
शिक्षा शाखा प्रमुख रामेश्वर कुँवरका अनुसार नगरका संस्थागत विद्यालयहरूमा ४ हजार ८ सय ५६ विद्यार्थी अध्ययनरत छन् । उनले पूर्वाग्रही नभई सहमति पालना नगर्ने विद्यालयहरूको हकमा मात्र कारबाही अगाडि बढाइने स्पष्ट पारे । नगरपालिकाले विद्यालय सुधार कार्यक्रम अन्तर्गत ४७ वटा सामुदायिक विद्यालयलाई समायोजन गरी ४१ वटामा झारेको जनाएको छ ।
