Monday, June 22News That Matters

ओलीलाई विश्वासको मत पुगेन, सरकार ढल्यो

पूर्णपुष्टि, बैशाख २७

ओली सरकारले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएको छ । आज भएको प्रतिनिधि सभाको विश्वासको मतदानमा मत नपुगेपछि ओली सरकार ढलेको हो ।

२३२ मत मध्ये ९३ मत मात्र ओलीले पाएका छन् भने उनको विपक्षमा १ सय २४ जनाले मतदान गरेका थिए ।  यता १५ जना तटस्थ बसेका थिए । ओलीले संसदबाट विश्वासको मत नपाएसँगै मुलुक नयाँ सरकार निर्माणको बाटोमा लागेको छ । अब संविधानको धारा ७६ अन्तर्गत उपधारा २ अनुसारको सरकार बनाउनुपर्ने माग विपक्षी दलहरुले राखिरहेका छन् ।

प्रधानमन्त्री ओलीको विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले मत दिएका थिए ।

प्रधानमन्त्री ओलीलाई उनकै पार्टी एमालेको उनी पक्षीय सांसदले मात्रै मत दिएका थिए । १२१ जना सांसद रहेको एमालेले यसअघि विश्वासको पक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि २८ सांसद अनुपस्थित थिए ।

एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका हुन् । खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित रहने निर्णय गरेको थियो ।