
पूर्णपुष्टि, साउन २३ । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा सुदूरपश्चिम प्रदेश सबैभन्दा कमजोर देखिएको छ। यस प्रदेशबाट परीक्षा दिएका विद्यार्थीमध्ये ६०.५७ प्रतिशत विद्यार्थीको नतिजा ‘नन ग्रेडेड’ (एनजी) आएको छ।
सुदूरपश्चिम प्रदेशबाट ३५,६२८ विद्यार्थीले परीक्षा दिएकोमा केवल १४,०४६ जना मात्र उत्तीर्ण भएका छन्। यस प्रदेशबाट उच्च जीपीए (३.६ देखि ४.०) प्राप्त गर्ने विद्यार्थीको संख्या जम्मा १२१ रहेको छ।
सुदूरपश्चिमपछि कर्णाली प्रदेश दोस्रो कमजोर देखिएको छ, जहाँ ५९.२४ प्रतिशत विद्यार्थी फेल भएका छन्। त्यसपछि क्रमशः कोशी, मधेस, लुम्बिनी, गण्डकी र बागमती प्रदेश रहेका छन्। यो समस्याको कारण बारे पूर्व सचिव डा. लवदेव अवस्थीले राज्यको ध्यान नपुगेको, शिक्षकको कमी, विकट भूगोल र गरिबी जस्ता कारणहरू औंल्याएका छन्। उनले शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए।
शिक्षा मन्त्रालयका प्रवक्ता केशव प्रसाद दाहालले नतिजा सुधारका लागि शिक्षक तालिम र अन्य कार्यक्रमहरू केन्द्रित गर्न सकिने बताए। राष्ट्रिय परीक्षा बोर्डले नतिजा कमजोर हुनुको कारण र सुधारका उपायहरूको अध्ययन गर्न लागेको जानकारी दिइएको छ। यो समस्या केवल कक्षा १२ मा मात्र सीमित नभई, एसईई र उच्च शिक्षामा समेत देखिएको छ।
