Wednesday, April 22News That Matters

कक्षा १२ को नतिजा साउन तेस्रो हप्ताभित्र सार्वजनिक हुने

पूर्णपुष्टि, साउन ११ । कक्षा १२ को नतिजा साउन तेस्रो हप्ताभित्र सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको जनाएको छ। बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजाको म्याचिङ र प्रोसेसिङको काम भइरहेको र तोकिएको समयमै नतिजा सार्वजनिक गरिने बताएका छन्।

गत वैशाखमा सम्पन्न भएको यस परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए। यसमध्ये नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजार परीक्षार्थी रहेका छन्। परीक्षा देशभरका एक हजार ५२५ केन्द्रहरूमा सञ्चालन भएको थियो भने जापानमा समेत एक परीक्षा केन्द्र रहेको थियो।

कोभिड–१९ महामारीपछि पहिलो पटक नियमित समयमा सम्पन्न भएको यस परीक्षाको नतिजा लाखौं विद्यार्थीहरूको भविष्यसँग जोडिएको छ। नतिजा प्रकाशनसँगै उच्च शिक्षाका लागि भर्ना प्रक्रिया सुरु हुने भएकोले विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाहरू उत्सुकतापूर्वक नतिजाको प्रतीक्षामा रहेका छन्। राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनको प्रक्रियालाई चुस्त र पारदर्शी बनाउन विशेष ध्यान दिएको जनाएको छ।