
पूर्णपुष्टि, साउन ११ । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा अप्रत्याशित मोड आएको छ। पीडित भनिएकी गौशाला–२६ की एक किशोरीले उच्च सरकारी वकिलको कार्यालय पाटनमा सर्वोच्च अदालतमा पुनरावेदन नगर्न आग्रह गर्दै निवेदन दिएकी छिन्।
उच्च सरकारी वकिलको कार्यालय स्रोतका अनुसार किशोरीले आफ्नो निवेदनमा यस मुद्दाका कारण आफूलाई अत्यधिक मानसिक तनाव भएको र यसलाई थप अगाडि बढाउन नचाहेको उल्लेख गरेकी छिन्। उनले उच्च अदालत पाटनको फैसला स्वीकार गरेको र सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन विशेष आग्रह गरेकी छिन्।
यो घटनाक्रम उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको केही दिनपछि आएको हो। उच्च अदालतले बलात्कारको वस्तुनिष्ट प्रमाणको अभाव रहेको र पीडित नाबालिग नदेखिएको भन्दै लामिछानेलाई सफाइ दिएको थियो। यद्यपि, कानुनी रूपमा सरकारी वकिल र पीडित पक्षले सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ। तर किशोरीको यो निवेदनले मुद्दाको भविष्यमा ठूलो प्रभाव पार्न सक्ने देखिन्छ।
