
पूर्णपुष्टि, कार्तिक ११
राष्टिय प्रसारण प्रणालीको विद्युत सेवा उदयपुरको अति विकट ठाउँ कटारी नगरपालिका–१ पोखरिया गाउँमा पुगेको छ । बुधबार एक कार्यक्रम बिच पूर्व प्रदेश कृषि सहकारी राज्य मन्त्री कला घले र कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले वत्तिको स्विच थिचेर उद्घाटन गरेका थिए । नेपाल विद्युत प्राधिकरण र कटारी नगरपालिकाको सहकार्यमा पहिलो पटक पोखरियामा राष्ट्रिय प्रणालीको विद्युत पुर्याएको हो ।
अहिले ३० घरमा मिटर जडान गरी विद्युत वत्तिको उद्घाटन गरिएको छ केहि दिनमा थप ३० घरमा मिटर जडान गरिने छ । भौगोलिक विकटताका कारण नगरपालिकाको पहलमा विजुली पोखरियासम्म पुगेको मेयर श्रेष्ठले बताउनुभयो । उनका अनुसार ट्रान्सफर्मर, पोल ढुवानी लगायतको कामको लागि नगरपालिकाले सहयोग गरेको बताए ।
लामो प्रयास स्वरुप पोखरियामा विद्युत पुगेको छ । गाउँमा विद्युतको पहुँच पुगेसँगै अबस्थानीय स्रोत र साधनको सदुपयोग गर्दै जनतालाई आर्थिक सम्वृद्धिमा जोड्न सहज भएको मेयर श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार यस्ता कार्यमा नगरपालिकाले आवश्यक सहयोग गर्छ । राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच यस गाउँका जनताका लागि आवश्यक थियो । अब लाइन आइसक्यो । उद्योग, व्यवसाय सञ्चालन गर्न सहयोग पुग्नेछ । यस वर्षको तिहार गाउँ नै झिलिमिली हुने मेयर श्रेष्ठले बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरणको झण्डै ८५ लाख रुपैयाँ लागतमा विद्युतीकरण विस्तार गरी गाउँमा विद्युत सेवा विस्तार गरेको प्राधिकरण उदयपुर वितरण केन्द्रका सूचना अधिकारी इन्जिनियर सत्यनारायण साहले बताउनुभयो । उनका अनुसार प्राधिकरणले कटारी नगरपालिका–२ ग्राँसमा ११ केभीएबाट बेलस्रोत, कालिखोला हुँदै पोखरिया गाउँमा ५० केभीको ट्रान्सफर्मर राखेर सेवा प्रवाह गरिएको छ ।
गत आर्थिक वर्षमा कालिखोलासम्म ४२ वटा पोल र चालु आर्थिक वर्षमा ६० वटा पोल हाइटेन्शन पोल विस्तारसँगै विद्युत पोखरियामा पुगेको सूचना अधिकारी साहले जानकारी दिनुभयो ।
यस्तै, ५० केभिको ट्रान्सफर्मर मार्फत ६० वटा लोटेन्शन पोलमा विद्युत प्रवाह गरिएको कटारी शाखा प्रमुख लक्ष्मण साहले बताउनुभयो । गाउँमा प्राधिकरणको विद्युत सेवा पुगेपछि स्थानीयबासी निकै हर्षित भएका छन् । लामो समयदेखि टुकिको भरमा उज्यालो बनाउँदै आएका गाउँमा विद्युत सेवा विस्तार गरेपछि जनजीवन सहज भएको स्थानीयहरुको भनाई रहेको छ ।
गाउँमा विद्युत पुगेपछि मोबाइल चार्ज गर्न, टिभी हेर्न, फर्निचर उद्योग खोल्न, कुखुरा पालन गर्न सहज हुँने भएको छ । गाउँमा विद्युत पुगेपछि केटाकेटीहरुलाई पठनपाठन गर्न सजिलो हुने भएको छ ।
पूर्व प्रदेश कृषि सहकारी राज्य मन्त्री कला घलेले सवैको साथ सयोगले आज पोखरिया गाउँ झिलीमिली भएको बताउनुभयो । गाउँमा बिजुली पुर्याउन सहयोग गर्न सवैको साथ सहयोग रहेकोले पछिल्लो दिनमा पनि साथ सहयोग रहने बताउनुभयो ।
