
पूर्णपुष्टि, जेठ १ । उदयपुरमा अवैद्य रुपमा रुख कटान गरेको आरोपमा सामुदायिक वन उपाभोक्ताको अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका ३ स्थित सदावहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्रि घिमिरे रहेका छन् ।
आफु खुसी ४८ ओटा रुख काटेर मनोमानी ढंगले उपभोक्तालाई वितरण गरेको अध्यक्ष घिमिरेमाथी आरोप छ । उपभोक्तलाई वितरण गर्दा समेत रसिद पनि नकाटी ४०,५० हजारका दरले रकम उठाएको आरोपमा उनलाई पक्राउ गरेको डिभिजन वन कार्यालय त्रिवेणी कटारीले जनाएको छ ।
वनमा रुख कटानको लागी सामुदायिक वन उपभोक्ता समुहले जिल्ला वन कार्यालयबाट स्विकृत गराई कार्यालयको छपान र कटानको आदेश लिएर मात्र रुख कटान गर्न पाउने ब्यवस्था रहेको छ भने काठ काट्नु पर्दा हरेक पटक छुट्टै अनुमती लिनु पर्ने वन ऐन र नियमावली रहेको छ ।
वन ऐन ०४९ र वन नियमावली ०५१ अनुसार विधान र वन ब्यवस्थापनका लागि कार्ययोजना वनाएर जिल्ला वन कार्यालयबाट स्विकृत गराउनु पर्ने ब्यवस्था छ । समुहले माग गरेका आधारमा वन कार्यालयले आफनो टाँचा (छाप) लगाएका रुख मात्रै काट्ने अनुमति दिन्छ ।
तर, समूहका अध्यक्ष घिमिरेले रुख कटान आदेश सव डिभिजन वन कार्यालय वेलसोतबाट अनुमति लिएको भन्दै आए पनि कटान आदेश लिएका छैनन । सव डिभिजनका रेन्जर युवराज खरेलले मौखिक रुपमा कार्ययोजनाको काम गर्दै गरौंला, रुख काट्नु भनेकोले दुई सातायता रुख काटेर उपभोक्ताको घर घरमा पुरयाइएको स्थानीयहरू बताउँछन् । अध्यक्ष घिमिरेले उपभोक्तालाई वितरण गरेको काठ बन कार्यालयले बरामद गरेको छ ।
