
पूर्णपुष्टि, जेठ १ । रोल्पा घुम्न गएकी एक महिला पर्यटकको डुबेर मृत्यु भएको छ । रोल्पाको पर्यटकिय क्षेत्र सुनछहरी झरना घुम्न गएकी बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–१८ पशुपति नगरकी २४ वर्षिया चन्द्रा सुनारको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक श्याम सारुमगरले श्रीमान र नावालक छोरासँग सुनछहरी झरना घुम्न गएकी महिलाको नुहाउने क्रममा मृत्यु भएको जानकारी दिए । उनका अनुसार सुनछहरी झरनाको पोखरीमा नुहाउछु भनेपछि श्रीमानले छोरा लिएर अलि पर गएर पर्खेर बसेको अवस्थामा चन्द्राको मृत्यु भएको रहेछ ।
नुहाएर आउन अलि ढिला भएपछि हेर्न जाँदा पोखरीमा श्रीमतिलाई मृत अवस्थामा देखेपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । चन्द्राका श्रीमान उमेश सुनार ईलाका प्रहरी कार्यालय पोवाङमा कार्यरत छन् । घटनाको जानकारी पाए पश्चात ईलाका प्रहरी कार्यालय पोवाङबाट आएको प्रहरीको टोलीले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
