
पूर्णपुष्टि, पुष १२ । उदयपुरको कटारी नगरपालिकामा घाइते बन्यजन्तुको उद्धार तथा उपचारको लागि बन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ ।
डिभिजन वन कार्यालय कटारीको स्वीकृतिमा नगरपालिकाको वडा नम्बर ५ स्थित सिसाघारी सिमसार तथा पर्यटन क्षेत्रमा केन्द्र स्थापना गरिएको हो । पर्यटन क्षेत्र व्यवस्थापन समितिका संयोजक दिलबहादुर अधिकारीका अनुसार सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र उदयपुरमा घाइते अवस्थामा फेला परेका बन्यजन्तुको उद्धारका लागि केन्द्रको स्थापना गरिएको हो ।
हालसम्म केन्द्रमा २ वटा नीलगाई र ४ वटा मृग घाइते अवस्थामा ल्याएर उपचार गरिएको र उपचारपछि सोही सिमसारमा राखिएको उनले जानकारी दिए । केही घाइते बन्यजन्तुलाई भने बचाउन नसकिएको उनको भनाइ छ ।
डिभिजन वन अधिकृत अनिरुद्र साहले हाल भेटेरिनरी चिकित्सकबाट घाइते बन्यजन्तुको उपचार गराउँदै आएको र भविष्यमा काठमाडौंस्थित चिडियाखानाबाट दक्ष उपचारकर्ता ल्याई तालिम दिएर स्थानीय स्तरमै उपचारकर्ता उत्पादन गर्न लागिएको बताए । नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले उक्त सिमसार क्षेत्रलाई चिडियाखानाको रूपमा विकास गर्न सकिने संम्भावना भएकोले आगामी बजेटबाट थप काम सुरु गरिने बताए । सार्थै संघीय सरकारसँग समेत सहयोग माग गरिने बताए ।
