
पूर्णपुष्टि, पुष १३ । मोरङको बिरानटनगर महानगरपालिका–१६ स्थित दुर्गा मन्दिर परिसरमा शुक्रबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २ सय जनालाई न्यानो कपडा बितरण गरिएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र रानीको आयोजना तथा इलाका प्रहरी कार्यालय रानीको सहकार्यमा बिराटनगर महानगरपालिका १२,१३,१४,१५,१६ र १७ नम्वर वडामा वसोवास गर्ने अल्पसंख्यक, जेष्ठ नागरिक, फरक क्षमता भएका र एकल महिलालाई कम्बल वितरण गरिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा न्यानो कपडा कम्बल बितरण गरिएको हो । प्रदेश प्रहरी प्रमुख अधिकारीले हामी विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको भएता पनि समाजमा भावनात्मक रुपमा सबै समान रहेको बताए । उनले एकले अर्कोलाई सकेको सहयोग गर्नु र प्रेमको भाव राख्नु मानव जातिको परम धर्म र कर्तव्य रहेको उल्लेख गरे । समाज विभिन्न समस्या र अभावहरुसँग लडिरहेको अवस्थामा मानव सेवामा समर्पित यस्तो कार्य पुण्य कर्म रहेको बताउँदै विभिन्न संघसंस्थाहरुसँग समन्वय र सहकार्य गरी कोशी प्रदेश प्रहरी निरन्तर मानव सेवामा लागिरहने जानकारी दिए ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, सामुदायिक सेवा केन्द्र रानीका अध्यक्ष किशोर सुब्बा लगाएत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो।
