
पूर्णपुष्टि, पुष १३ । उदयपुरको चौदण्डीगढी नगरपालिका १० इकराहाकी १३ वर्षिया काजल दनुवार ७ कक्षामा पढ्छिन् । उनी पढ्ने श्री लौवागडी माध्यामिक विद्यालय एकघण्टा बढि टाढा छ । बुवाको गतअसारमा स्वर्गरोहण भयो । घरको आर्थिक अवस्था अतिनाजुक छ । आमाले साइकल किनिदिने अवस्था छैन । यहि अवस्था बुझेर उदयपुर साइक्लिङ संघले आज उनलाई पढाइका लागि साइकल उपलब्ध गराएको छ ।
उनी जस्तै विद्यालय टाढा भएका १५ जना बालबालिकालाई साइकल वितरण गरिएको छ । नेपालका साइक्लिङ अभियानता तथा राइडर तेन्जिङ गुरुङ र अमेरिकन नागरिक रेविका आनको पहल प्रयास तथा उदयपुर साइक्लिङ संघको संयोजनमा १५ जना बालबालिकालाई साइकल वितरण गरिएको हो ।
हिमाली क्षेत्रमा साइक्लिङ गर्दै गाउँ–बस्तीमा पुग्ने गुरुङले ग्रामिण क्षेत्रका बालबालिकाको शिक्षा र खेलकुद मार्फत स्वास्थ्यमा सहयोग पुर्याउन रेडपन्डा प्रोजेक्ट सञ्चालन गरेका छन् । सोही अन्तर्गत उदयपुरमा साइकल वितरण गरिएकोमा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले प्रशंसा ब्यक्त गरे । साइकलले बालबालिकाको शिक्षामा टेवा र स्वास्थ्यमा फाइदा पुग्ने विश्वास गरिएको छ ।
