Wednesday, May 20News That Matters

कटारीमा मुसहर र डोम समुदायको घर–घरमै पुगेर स्वास्थ्य बीमा

पूर्णपुष्टि,असार १० । उदयपुरको कटारी नगरपालिका–४ का विपन्न मुसहर र डोम समुदायलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । शनिवार वडाका बिभिन्न १९ मुसहर र ११ डोम समुदायका विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको हो ।

सरकारको स्वास्थ्य बीमा बोर्डअन्तर्गत विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएर सहज र सहुलियतरूपमा उपचारका पहुँच पुर्‍याउने उद्देश्य रहेको कटारी अस्पतालका स्वास्थ्य बीमाको सहजीकरण गर्दै आएका कर्ण राईले बताए । मुसहर र डोम समुदायले यसबारे जानकारी नपाउँदा सेवा लिन नसकेकाले घरमै गएर जानकारीसहित बीमा गरिदिएको उनले जानकारी दिए ।

‘उपचार गर्ने पैसा मुसहर र डोम समुदायसँग हुँदैन, यो सरकारी सेवाको पहुँचमा पुर्‍याए कम्तीमा वर्षमा १ लाख रुपैयाँसम्मको उपचार सरकारले गरिदिन्छ,’ सहजकर्ता राईले भने, ‘उपचारका लागि गुहार मागि हिँड्छन्, यति गरेपछि सरकारले उपचार सेवा दिन्छ ।’

कटारी–४का मुसहर टोलका भरत मुसहरले बीमाका बारेमा आफुहरुलाई कुनै पनि जानकारी नभएकाले बिरामी हुँदा घरमै बस्ने गरेको बताए । ‘हामीलाई केही थाहा नै थिएन, अस्पताल जान पैसा हुँदैन थियो, निःशुल्क उपचार पनि पाइने बल्ल थाहा भयो,’ उनले भने । उनले शनिवार ६ परिवारका सदस्य सहितको स्वास्थ्य बीमा गराए ।

७ परिवारका सदस्य बुद्धि मुसहरले पनि बल्ल सेवाबारे थाहा पाएको जनाउँदै आगामी दिनमा उपचारका लागि अस्पताल जाने बताए । ६ परिवारका स्वास्थ्य बीमा गरिदिएपछि भलवा मुसहरले अस्पताल जाने बाटो खुलेको बताए । ‘पैसा विना पनि उपचार हुने रहेछ बल्ल थाहा भयो,’ उनले भने ।