Saturday, June 6News That Matters

कन्चनपुरमा नक्कली नोट सहित २ जनालाई सशस्त्र प्रहरीले पक्राउ गर्यो

पूर्णपुष्टि, माघ १८

नक्कली नेपाली नोट सहित कन्चनपुरबाट २ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । कन्चनपुरको बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरीले पक्राउ गरेको हो ।

लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित शनिबार साँझ पक्राउ गरेको शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।

सशस्त्र प्रहरी उपरीक्षक ऐरका अनुसार उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २००, नक्कली नोट एक हजार दरको पाँच, मोबाइल फोन दुई थान, नगद रु १६०, मोटरसाइकलको लाइसेन्स र ब्लुबुक बरामद गरिएको छ ।

पक्राउ परेका दुवैलाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको छ ।