
पूर्णपुष्टि, वैशाख १८ गते ।
उदयपुरमा प्रशासनले कन्ट्याक्ट ट्रेसिङको आधारमा विभिन्न व्यक्तीहरुको स्वाव नमुना संकलन गरी परिक्षणमा पठाएको छ । जसमध्ये केहीको रिपोर्ट नेगेटिभ आएको छ । जसमा संक्रमितसंग सम्पर्क भएका नागरिक समाजका अगुवा, राजनीतिककर्मी, समाजसेवीहरु समेत छन् ।
भुल्केमा २८ जना संक्रमित भेटिएपछिे प्रशासनको कन्ट्याक्ट टे«सिङको आधारमा २ सय २ जनाको स्वाव नमुना संकलन भएको छ । जसमध्ये १ सय ४० जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्यको रिपोर्ट आउन बाँकी छ ।
त्रियुगा नगरपालिका ३ भुल्केका ३ सय ३७ जनाको स्वाव परिक्षणबाट २८ जनामा संक्रमण पुष्टि भएपछि प्रशासनले बैशाख ११ गतेदेखि कन्ट्याक्ट टे«सिङको आधारमा थप परिक्षण अगाडि बढाएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार वैशाख ११ गते चौदण्डीगढी नगरपालिकाको वडा नंं ५ र ९ बाट संकलित ५८ जनाको स्वाव रिपोर्ट नेगेटिभ आयो । सोही दिन त्रियुगा नगरपालिका १ मोतियाहीमा संकलन गरिएको २० जनाको स्वावको रिपोर्ट पनि नेगेटभि आयो ।
वैशाख १४ र १५ गते त्रियुगा नगरपालिकाका विभिन्न वडा, वस्तीलाई समेटेर जिल्ला अस्पताल, बोक्सेमा संकलन गरिएको ९१ जनाको स्वाव मध्धे ६२ जनाको रिपोर्ट नेगेटिभ आएको एक स्वास्थ्य अधिकारीले जनाएका छन् । अन्यको रिपोर्ट आउन बाँकी छ । त्यसयता वैशाख १६ गते भुल्केअन्तर्गतकै ३३ जनाको स्वाव नमुना संकलन गरि परिक्षणका लागि पठाइएको छ । पछिल्लो समयमा संक्रमितहरुसंग सम्पर्क भएका समाजसेवी, राजनीतिककर्मी, नागरिकसमाजका अगुवा र सर्बसाधारण रहेको एक सुरक्षाअधिकारीले बताए । जनस्वास्थ्य उदयपुरले संकलन गरेर पठाएको नमुना स्वाव विराटनगरस्थित कोशी अस्पतालमा परिक्षणका लागि पठाउने गरेको छ ।
त्यसैगरी जनस्वास्थ्यले हिजो ताप्ली गाउँपालिकामा २५ जनाको आरडिटी परिक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । जसमध्ये दुईजना पुरुषको स्वाव नमुना संकलन गरिएको छ भने आज मात्र भोजपुरमा भेटिएका संक्रमित युवाको उदयपुरको बेलका नगरपालिका ७ मैनामैनी स्थित ससुराली घरबाट पुन परिक्षणका लागि पाँचै जनाको स्वाव नमुना संकलनको कार्य भएको छ ।
पछिल्लो समय संक्रमितको संख्या नथपिएकाले त्रसित जनजीवन केही सामान्य बन्दै गएको देखिएको छ । यद्यपी संक्रमणको उच्च जोखिम कायमै रहेकाले स्थानीय प्रशासनले लकडाउन कडाइ गरिरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले बजार, सडकमा सुरक्षा कडाइ गरी लकडाउनमा कडाइ गरिरहेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरका अनुसार गत वैशाख ५ गते २८ जना एउटै गाउँ भुल्केमा संक्रमित पुष्टि भएपछि गरिएको सिल जारी छ । नेपाली सेनासमेतको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडाइका साथ सुरक्षा घेरामा राखेको छ । उनीहरुको पहिलो परिक्षण भएको दुईहप्तापछि पुन परिक्षण गरेर रिपोर्ट नआएसम्म त्यहाँका बासिन्दालाई बाहिर जान र बाहिरको मानिसलाई गाउँ प्रवेश बन्द हुनेगरी शिल गरिएको छ । साथै त्यस बाहेक जिल्लाको सबै स्थानमा लकडाउन कडाइका साथ लागू भईरहेको एसपी मगरले बताउनुभयो ।
