Tuesday, April 21News That Matters

कमल थापा सहित ५ जना प्रहरी नियन्त्रणमा

पूर्णपुष्टि, बैशाख १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित पाँच जना राजावादी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालुवाटारमा सरकारले घोषणा गरेको निषेधित क्षेत्र तोडेर प्रवेश गर्न खोजेपछि उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।

नारायणचौरबाट सुरु भएको राजावादीहरूको प्रदर्शन बालुवाटारतर्फ अघि बढ्दै जाँदा प्रहरीले राखेको सुरक्षा घेरा तोड्न खोजेपछि यो कारबाही भएको हो । प्रहरीका अनुसार पक्राउ परेका सबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ । राजसंस्था पुनस्थापना र हिन्दु राज्य घोषणाको मागसहित गत जेठ १५ गतेदेखि निरन्तर रूपमा राजावादीले प्रदर्शन गरिरहेको छ ।

हिजो पनि राजावादीहरूको प्रदर्शन बालुवाटार नजिकै पुगेको थियो तर प्रहरीको सुरक्षा व्यवस्थाका कारण उनीहरू निषेधित क्षेत्रभित्र प्रवेश गर्न सकेका थिएनन् । आज भने प्रदर्शनकारीहरू थप आक्रामक भएर सुरक्षा ब्यारियर तोड्न खोजेका थिए । प्रधानमन्त्री, सभामुख र अन्य उच्च पदस्थ व्यक्तिहरूको सरकारी निवास रहेको बालुवाटार क्षेत्रलाई सरकारले सुरक्षाको दृष्टिकोणले निषेधित क्षेत्र घोषणा गरेको छ ।

एसपी बोहराका अनुसार राजावादीहरूले आजको प्रदर्शनमा विशेष उग्रता देखाएका थिए । उनीहरूले प्रहरीको निर्देशन र चेतावनीलाई बेवास्ता गर्दै जबरजस्ती निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीहरूले आवश्यक कारबाही गर्नुपरेको उनले बताए । यसअघि पनि राजावादी प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप भएका थिए । केही प्रदर्शनकारीहरू घाइते भएका र लाठीचार्जको घटना समेत भएका थिए ।