
पूर्णपुष्टि, कार्तिक २७
करेन्ट लागेर मृत्यु भएको परिवारलाई समितिले १६ लाख क्षती पुर्ति दिने भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको बिहिबार करेन्ट लागी मुत्यु भएको थियो । विद्युत् व्यवस्थापन समितिको लापरबाहीका कारण करेन्ट लागेको भन्दै पीडित परिवारले शव बुझेका थिएनन् ।
पीडितले रु २५ लाख क्षतिपूर्तिको माग समेत गरेका थिए । ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको हो ।
चित्रबहादुर आफ्नै कोठामा हातमा मोबाइल लिइरहेको अवस्थामा अचेत भेटिएका थिए । स्थानीयवासीका अनुसार उनको दाहिने हात, मोबाइल र चार्जरसमेत जलेको थियो । उपचारका लागि बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
क्षतिपूर्ति दिने सहमति भएसँगै शव दमौली अस्पतालमा परीक्षण गरी बेलचौतारामा लगेर अन्त्येष्टि गरिएको छ । समितिले किरिया खर्चबापत रु एक लाख आइतबार उपलब्ध गराउने र बाँकी रु १५ लाख पुस २५ गतेभित्र उपलब्ध गराउने सहमति गरेको छ । करेन्ट लागेर सोही ठाउँका अन्य दुईजना घाइते भएका थिए ।
