Friday, November 6News That Matters

कांग्रेस उदयपुरको जिल्ला सभापतिमा बसन्तकुमार बस्नेत सर्वसम्मत

पूर्णपुष्टि, उदयपुर
१९ कार्तिक २०८३ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले उदयपुर जिल्ला कार्यसमितिको नेतृत्व सर्वसम्मत चयन गरेको छ । त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेत जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
केही समयअघि जिल्ला संयोजकको जिम्मेवारी पाएका बस्नेत बिहीबार सम्पन्न जिल्ला अधिवेशनबाट सभापतिमा सर्वसम्मत चयन भएका हुन् । देउवा पक्षको १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले बस्नेतलाई जिल्ला सभापति घोषणा गरेका हुन् ।
नवनिर्वाचित जिल्ला कार्यसमितिको उपसभापतिमा राजेन्द्र पौडेल र भक्त रानामगर चयन भएका छन् । त्यसैगरी सचिवमा विष्णु कोइराला र टेकबहादुर दाहाल सर्वसम्मत निर्वाचित भएका छन् । सहसचिवको नाम भने टुंगो लाग्न बाँकी रहेको सभापति बस्नेतले जानकारी दिए ।
‘हाम्रो ३७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ,’ बस्नेतले भने । जिल्ला अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय अधिवेशन प्रतिनिधि नारायण कार्की, कोशी प्रदेश महामन्त्री भूपेन्द्र राई र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
देउवा समूहले यसअघि नै उदयपुरका आठवटै पालिका, प्रदेश तथा क्षेत्रीय अधिवेशनको प्रक्रिया सम्पन्न गरिसकेको छ । जिल्ला नेतृत्व चयनसँगै समूहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई थप तीव्रता दिएको छ ।