
पूर्णपुष्टि, मंसिर ३ ।
नेपाली कांग्रेस उदयपुर आज प्रदेशसभा अधिवेशनमा होमिएको छ । जिल्लाको चार ठाउँमा निर्वाचनका लागि मतदान चलिरहेको छ । ५ बजेसम्म चल्ने मतदान कार्यक्रम निर्वाचन क्षेत्र नं. १ को (क) र (ख), निर्वाचन क्षेत्र नं. २ को (क) र (ख) गरी चार ठाउँमा चलिरहेको छ ।
कांग्रेसभित्र प्रष्ट दुई खेमा छुट्टिदै चारै ठाउँमा दुई प्यानलबीच चुनाव भएको छ । क्षेत्र नं. १ को (क) मा अर्जुन दाहाल नेतृत्वको प्यानल र जयप्रसाद सुवेदी नेतृत्वको प्यानलबीच चुनाव चलिरहेको छ । १ (ख) मा देवीकुमारी चौधरी नेतृत्वको प्यानल र सरोजकुमार बस्नेत नेतृत्वको प्यानलबीच चुनाव चलिरहेको छ ।
उता क्षेत्र नं. २ को (क) मा मोहनसेर राई नेतृत्वको प्यानल र खेसबहादुर मगर नेतृत्वको प्यानलबीच चुनाव चलिरहेको छ भने २ (ख) मा राम पोखरेल नेतृत्वको प्यानल र कृष्ण थापा नेतृत्वको प्यानलबीच चुनाव चलिरहेको छ ।
१ (क) को अर्जुन दाहाल, १ (ख) को देवीकुमारी चौधरी, २ (क) को मोहनसेर राई र २ (ख) को राम पोखरेल कांग्रेस कोइराला–पौडेल खेमाका हुन् भने १ (क) का जयप्रसाद सुवेदी, १ (ख) का सरोजकुमार बस्नेत, २ (क) का खेसबहादुर थापा र २ (ख) का कृष्ण थापा कांग्रेस देउवा खेमाका हुन् ।
सबैतिर मतदान कार्य सौहाद्ररुपले चलिरहेको कांग्रेस उदयपुर प्रवक्ता मदन कटुवालले जानकारी दिनुभयो । यी चार ठाउँका प्रदेश अधिवेशन सभापतिका लागि कस्ले बाँजी मार्ने हो त्यो निर्वाचन परिणामले देखाउनेछ ।
जिल्ला सभापतिका लागि पनि दुवै खेमाबाट उम्मेदवार सार्वजनिक भइसकेका छन् । कोइराला–पौडेल खेमाबाट हालको जिल्ला सभापति विदुर बस्नेत र देउवा खेमाबाट प्रदेश मन्त्री हिमाल कार्की सभापतिको उम्मेदवार छन् । जिल्ला सभापतिका लागि कसको कति भारी पल्ला भन्ने संकेतसमेत अहिलेको प्रदेशसभा अधिवेशनको निर्वाचनले देखाउने अनुमान छ ।
