
पूर्णपुष्टि,चैत्र २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख विपक्षी दलको नेताको हैसियतमा ९३ दिनको सुविधा पाउने भएको छ । मंसिर ४ मा भएको निर्वाचनदेखी निर्वाचित संसदहरुले पुष ७ मा सपथ लिएका थिए भने पुष १० मा माओवादी नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकार निर्माण गरेका हुन् ।
प्रचण्डको नेतृत्वमा सरकार बन्दा काग्रेस संसदमा प्रमुख विपक्षी दलको बेन्चमा बसेको थियो भने पुष २६ मा प्रधानमन्त्रीलाई काग्रेसले विश्वासको मत दिएको थियो । मतदिएपछि पनि कांग्रेस विपक्षी दलको बेन्चमा नै बसेको थियो । सरकारलाई विश्वासको मत दिएको दल प्रमुख विपक्षी दल हुन नसक्ने नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले दाबी गरेको थियो भने सर्वोच्च अदालतमा समेत मुद्दा परेको छ ।
कांग्रेसलाई विपक्षी दलको मान्यता दिन नहुने माग सहित सर्वौच्चमा परेको रिट विचाराधीनमा रहेको बेला संघीय संसद सचिवालयले सरकारमा सहभागी नभएको समयको प्रमुख विपक्षी दलको नेताको मान्यतासहित त्यस अनुसार पाउने सुविधा कांग्रेस सभापति देउवालाई दिने तयारी गरेको हो ।
देउवाले प्रमुख विपक्षी दलको नेताको हैसियतमा ९३ दिनको सेवा सुविधा प्राप्त गर्ने संघीय संसद सचिवालयले जनाएको छ । शेरबहादुर देउवा १० पुस २०७९ देखि ४ चैत २०७९ सम्म प्रमुख विपक्षी दलको नेता रहेको भनी संसदले विपक्षी दलको नेताको हैसियतमा पाप्त हुने सेवा सुविधा दिने तयारी गरेको हो ।
५ चैतमा कांग्रेसले सरकारलाई समर्थन गर्ने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो । सोही निर्णय अनुसार कांग्रेस सरकारमा सहभागी भइसकेको छ ।
कांग्रेस सरकारमा सहभागी भइसकेपछि सहभागि हुनुभन्दा अगाडि प्रमुख विपक्षी दलको बेन्चमा बसेको आधारमा देउवालाई सुविधा दिने तयारी गरेको हो ।
