Friday, May 15News That Matters

कृत्ति दम्पत्तीको लकडाउन अवसर

पूर्णपुष्टि, माघ २
कोभिड १९ को कारण भएको लकडाउनले सबैलाई नोक्सानी मात्र गर्यो भन्ने होइन, बरु त्यसको सदुपयोग गर्न जान्नेहरुलाई फाईदा पुगेको छ । त्यसको एक उदाहरण हो कलाकार गोपाल कृतिको दम्पत्ती ।
उदयपुरको त्रियुगा नगरपालिका–१२ का कृति रङ्गकर्मी हुनुहुन्छ । उहाँको परिवारमै कलाकारीता छाएको छ । कृति नाटक तथा अभिनयमा निपुण हुनुहुन्छ । उहाँकी श्रीमती नमु न्यौपाने नृत्यमा, ठूलीछोरी गायन, नृत्यमा र कान्छिछोरी अभिनय र नृत्यमा अब्बल हुनुहुन्छ । आफैमा सिमित यी कलाहरु लकडाउनपछि सबै माझ छाएको छ ।

सधै केही न केही सिर्जनशिल काम गर्नुपर्ने वा कार्यक्रममा सहभागि हुनुपर्ने परिवार लकडाउनले घरमै खुम्चिनु पर्दाको पिडा निकै तितो थियो । २०७६ सालको पहिलो लडकाउनमा घरमै खुम्चिएर रहेको कृति परिवारले २०७७ को दोस्रो लकडाउनलाई भने भरपुर सदुपयोग गर्यो । कतै केही गर्न नपाउने, घरमै बसिराखेको अवस्थामा कृतिले टिकटक एकान्ट खोलेर सामान्यरुपले सन्देशमुलक भिडियो बनाइ अपलोड गर्न थाल्नुभयो । सुरुमा छोरीहरुसंग कोरोनाविरुद्धमै बनाउनु भएको सन्देशमुलक भिडियो राख्नुभयो । त्यसपछि दैनिकजसो श्रीमतीसंग नेपाली गीत÷संगीतको प्रवद्र्धनात्मक भिडियो बनाउदै राख्न थाल्नु भयो ।
“नेपाली गीत÷संगीतलाई माया गरौं” भन्ने उद्गारसंगै कृति दम्पत्तीको नेपाली गीत÷संगीतका थुप्रै टिकटक भिडियोहरु अपलोड हुन थालेपछि एकाएक भाइरल बन्यो । लाखौ दर्शकहरुले मन पराए । माछिले खाने लेउ…, लुकेको मनमा तिम्रो लगायतका थुप्रै टिकटक भिडियोमा लाखौं भ्युज आएको छ ।

दर्शकहरुले अभिनय लगायतका प्रस्तुतीहरु अत्ति मनपराएपछि लोकप्रीय टिकटक जोडी बन्न पुग्नुभएको छ । यतिसम्म लोकप्रीयता कि नेपालका आदर्श कलाकार हरिवंश आचार्यदेखि नायिक करिस्मा मानन्धरसम्मको नजर पुग्यो । उहाँहरुसमेतले कृत्ति दम्पत्तीको भिडियो सामाजिक सञ्जालमा शेयर गर्नुभयो । नायिका स्वस्तिमा खड्का, नायक पल साहसंग त म्यूजिक भिडियोमासंगै खेल्ने अवसर मिल्यो ।
टिकटक लोकप्रियतासंगै कृत्ति दम्पत्ती नेपाली सञ्चार माध्यमहरुमा छाउनुभयो । मोफसलदेखि देशको मुलधारका ठूला मिडियासम्म छाउनुभयो । पछिल्लो नौ महिनामा मिडियाहरुमा अनगिन्ति अन्तरवार्ता तथा कृति दम्पत्तीको सफलताका कथाहरु प्रकाशन÷प्रशारण भएका छन् । यसबीचमा तीनवटा म्युजिक भिडियो खेलिसकेका छन् । पिरती लाउन सिकाईदेउ…, तिम्रो मायाले लौ न नी… र फुलेको फुल झै… बोलको गीतहरुमा कृति दम्पत्तीको अभिनय रहेको छ । फुलेको फुल झै… गीतमा कृत्ति दम्पत्तीको नै मुख्य भुमिका छ भने अरु दुईवटा मध्ये एउटामा नायिका स्वस्तिमा र नायक पलसंग अभिनय छ भने अर्को एउटामा मोडल सरन बस्नेतसंग अभिनय गर्नुभएको छ । अहिले पनि म्यूजिक भिडियोमा माग आइरहेको कृतिले बताउनुभयो ।

यतिबेला विभिन्न उत्पादन तथा कम्पनीहरुको विज्ञापनमा पनि उहाँहरुको माग बढेको छ । टिकटक लोकप्रियताले कलाकारितामा अवसरहरु प्राप्त गरिरहेका कृति लकडाउनले निम्त्याएको अवसर ठान्नुहुन्छ । “मेरो कलाकारिता कतै गुम्राहामा हराईरहेको भान थियो” उहाँले विगत सम्झनै भन्नुभयो “लकडाउनको सदुपयोग गर्दै टिकटक बनाए । यसकै माध्यमबाट विश्वभर छायो । लकडाउन मेरो लागि अवसर बन्यो ।”