Friday, May 15News That Matters

१५ वर्षदेखि घाँस बेच्दै चौधरी दम्पत्ती, पक्कीघर बनाउन नियमित बचत

पूर्णपुष्टि, माघ २
उदयपुरको त्रियुगा नगरपालिका–२ मोथियाहीका रामविलास चौधरीले घाँस बेचेर नियमित बचत गरिरहनु भएको छ । चौधरीले एकाविहानै गाईघाट बजारमा हरियो घाँस बेचेर दैनिक पाँचसय रुपैया बचत गर्दै आएको डेडवर्ष भयो । उहाँले घाँस बेच्न थालेको पन्ध्रवर्ष जति भइसके पनि बचतको ज्ञान भने डेडवर्ष अघिदेखि हो । गाउँकै एक सहकारी संस्थामा उहाँले नियमित बचत गर्दै आउनु भएको छ । आप्mनै छोराछोरीले बचतको ज्ञान दिएको उहाँले बताउनुभयो ।
“मैले घाँस बेचेर पैसा बचत गरेको एकवर्ष र आधा भयो” उहाँले भन्नुभयो –“बचत पैसाले पक्की घर बनाउने सोच छ ।” बचतले उहाँलाई काममा अझ उत्साह, विश्वास ल्याएको छ भने भविष्यप्रति ढुक्कता छ । घाँस बेचेको पैसाले उहाँलाई दैनिक पाँचसय बचत गर्न मात्र हैन खाद्यन्न तथा अन्य दैनिक उपभोग्य सामानहरु खरिद गर्न पुग्छ । छोराछोरीको पढाई, घरखर्चमा राम्ररी टेवा पुगेको छ ।
हरेक दिन एकाविहानै ३ः०० बजे उठेर अघिल्लो दिन तयार पारेको घाँस लिएर गाईघाट बजार पुग्नु उहाँको दैनिकी हो । गाईघाट पुग्न आधा घण्टादेखि ४५ मिनेटसम्म लाग्छ । बजारमा उज्यालो नहुँदै घाँस विक्री भईसक्छ । एउटाको पचास रुपैयाका दरले १६ मुठ्ठा घाँस बेच्दा आठसय रुपैया कमाई हुन्छ । अघिल्लो दिन जंगलमा घाँस संकलन गरेर ल्याएको मेहनतलाई विहान उज्यालो नहुदै नगदमा परिणत गर्नुहुन्छ ।

बजारको एक छेउमा घाँस राखेर बस्नुहुन्छ । गाईबस्तु, खसीबाख्रा पालेका बजारबासी घाँस किन्न आउछन् । खुसिसाथ एक मुठ्ठा घाँसको पचास रुपैया तिरेर लैजान्छन् । “एक मुठ्ठा घाँसको पाँच रुपैयादेखि अहिले पचास रुपैया भयो ।” पन्ध्रवर्ष पहिलेदेखिको अनुभव सम्झदै चौधरीले भन्नुभयो “महंगी अनुसार घाँसको भाउ पनि बढेको हो ।” उहाँका अनुसार दैनिक साठी रुपैया कमाई हुनु पहिलेको लागि ठुलो थियो । त्यसबेला ज्यामी काममा दिनभरको हाँजिरी जम्मा पचास रुपैया थियो । “मेरो लागि ज्यामी काम गरेर पचास रुपैया कमाउनु भन्दा घाँस बेचेर साठी कमाउनु ठूलो थियो ”
सुरुमा गाउँकै काका पर्ने आफन्तसंग गाईघाट बजारमा घाँस विक्री हुन्छ भन्ने कुरा थाहा पाउनुभएको थियो । दाउरा बेच्न जाने काकाले दाउरामाथि दुई÷चार मुठ्ठा घाँस लैजानु हुन्थ्यो । उहाँकै सल्लाह बमोजिम चौकरीले घाँस लगेर बेच्न थाल्नु भएको थियो । उहाँले यसै कामलाई निरन्तरता दिदै जानुभयो । पढेलेखेको नभए पनि घाँसबाट राम्रो कमाई भएपछि यस काम छोड्ने भएन । यतिबेला उहाँसंगै श्रीमती प्रेमकुमारीले पनि घाँस काट्न र बेच्न सघाउनु हुन्छ ।
उज्यालो नहुँदै घाँस विक्री सकिए पछि विहान भर उहाँकी श्रीमती खानपिन लगायत घरायसी काम गर्नुहुन्छ भने उहाँ तरकारीखेती तथा गाइबाख्रा पालनको काममा खट्नु हुन्छ । खानापछि घाँस काट्नु जान दैनिकी हो । घाँस ल्याएपछि खेतीपाती तथा अन्य काम पनि भ्याउनुहुन्छ ।

घाँस विक्रीबाट उहाँको जीवनमा थुप्रै परिवर्तन आएको छ । सुरुमा झुप्रो घर र जग्गा बाहेक केही थिएन । विस्तारै हेर्न लायक घर, गाई, बाख्रा, टिभि, साईकल जोड्न र छोराछोरीलाई राम्रो शिक्षा दिन सम्भव भएको छ । “आजकाल त श्रीमती र आफु आ–आप्mनै साईकलबाट घाँस बेच्न लैजाने र आउने गरेका छौं” साईकल देखाउदै उहाँले भन्नुभयो “अव, पक्की घर पनि बनाउँछौं ।”
बजार पुर्याएपछि घाँस नविकेको दिन कुनै छैन । गाईबस्तु, खसिबाख्रालाई उपयुक्त घाँस छानिछानि ल्याउन सिपालु हुनुहुन्छ चौधरी दम्पती । “अहिलेसम्म घाँस किन्नेहरुले बस्तुले खाएन भन्ने गुनासो आएको छैन” चौधरीले भन्नुभयो । बजारमा धेरैजसो खसीबाख्रा हुन्छन् भने केही गाई, भैसी हुन्छन् । यी घरपालुवा जन्तुका लागि हरियो घाँस सर्बोत्तम आहारा भएकाले पालकले किनेर खुवाउछन् ।
पछिल्लो समय मानवबस्तीसंगै जनसंख्या बृद्धिका कारण घाँस संकलनमा निकै दुःख छ । नजिकमा पाउन छाडेकाले निकै टाढा र भिरालो ठाउँ पुग्नुपर्छ । हिउँद वा वर्ष, नजिक वा टाढा जस्तोसुकै अवस्थामा पनि घाँस खोजेर बजार पुर्याउनु एक हिसावले उहाँको जिम्मेवारी जस्तै बनिसकेको छ । “हामी आफैले पनि बस्तु पालेका छौं” जिम्मेवारीपन देखाउदै चौधरीले भन्नुभयो “घाँस नलगे शहर बजारका गाईबस्तु, खसीबाख्रा भोकै पर्छन् ।”

चौधरी जस्तै अरु गाउँलेहरुलाई पनि घाँस विक्री आम्दानीको स्रोत बनेको छ । त्रियुगा नगरपालिका र आसपासका करिब २५ विपन्न परिवारका लागि यो काम जिविकोपार्जनको माध्यम बनेको छ भने गाईघाट बजार घाँस बेच्ने ठाउँ बनेको छ ।