
पूर्णपुष्टि, चैत्र २६ ।सामाजिक सञ्जाल फेसबुकमा केटी साथीको फोटो राखेर फेक अकाउण्ट बनाई ६० लाख ठगी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नम्बर २ घर भएका २६ वर्षीय विश्व शर्मा रहेका छन् ।
महिलाको तस्बिर राखेर नक्कली फेसबुक अकाउण्ट खोली साथी बनाउँदै प्रेमको कुरा गर्दै पटक–पटक विभिन्न बाहनामा रकम मागेको आरोपमा शर्मालाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार शर्मालाई गत चैत २३ गते पक्राउ गरी गत चैत २४ गते काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद लिएर थप अनुसन्धान भईरहेको छ । शर्माविरूद्ध सामाजिक सञ्जाल दुरूपयोगअन्तर्गत मुद्दा दर्ता गरिएको छ।
