
पूर्णपुष्टि,चैत्र २७ । विराटनगरको पूवी सिमाना भएर बग्ने सिङ्घिया नदीमा नयाँ प्रजातिको माछा फेला परेको छ । झापा र मोरङका पाँच नदीमा गरिएको खोज अनुसन्धानका क्रममा नेपालमै पहिलो पटक नयाँ प्रजातीको माछा एम्ब्लिसेप्स वाइखोमी’ फेला परेको अनुसन्धानकर्ताले जनाएको छ । अनुसन्धानकर्ताहरूले २०७८ मङ्सिरदेखि २०७९ असोजसम्म कोशी प्रदेशका दुई जिल्लामा बग्ने पाँच नदीमा अनुसन्धान गरेका थिए ।
अनुसन्धानकर्ताहरू जसहाङ लिम्बू, दीपक राजवंशी, भरतराज सुब्बा, अस्मित सुब्बा तथा विदेशीहरू जिनक्वान याङ र चेनहोङ लीको समूहले सिङ्घियाको तल्लो भाग जहदा पुल र बुधनगर गरी दुईवटा अध्ययन बिन्दुमा नयाँ प्रजातिको माछा फेला परेको दाबी गरेको छ । यो माछा नेपालका लागि नयाँ रेकर्ड भन्दै अमेरिकाबाट प्रकाशित इन्टरनेसनल जर्नल अफ जुलोजीको २०२३ अप्रिलको अङ्कमा प्रकाशित छ ।
अनुसन्धानमा संलग्न त्रिभुवन विश्वविद्यालयको जुलोजी विषयका पूर्वसहप्राध्यापक डा।.भरतराज सुब्बाका अनुसार सन् २०१६ मा भारतमा पनि ब्रह्मपुत्र नदीको सहायक नदीअन्तर्गत अरुणाचल प्रदेशमा पहिलो पटक यो प्रजातिको माछा फेला परेको रेकर्ड गरिएको थियो ।
