
पूर्णपुष्टि, ३० फागुन ।
कटारी रकटारी नगरपालिका वडा नम्बर ४ का महिलाहरुले वनमा खेर जाने सालकोे पातबाट आम्दानी लिन थालेका छन् । कोपिला सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध महिलाहरुले सालको पात टिपेर दुना टपरी बनाउन थालेपछी आम्दानी लिन थालेका हुन् ।
डिभिजन वन कार्यालय कटारी ९त्रिवेणी०को ८० प्रतिशत र उपभोक्ता समूहको २० प्रतिशत लगानीमा दुना टपरी बनाउने मेसिन खरिद गरेपछी उनीहरुले आम्दानी लिन थालेका हुन् ।‘एक वर्ष भयो हामीले दुना टपरी बनाएर बजार पठाउन थालेको ।’समूहका अध्यक्ष दिपक राईले भने ,‘घरको कामबाट बचेको समयमा महिलाहरुले पात टिपेर ल्याउँछन् र दुना टपरी बनाउँछन् ।’
नियमित पात टिपेर ल्याउनेहरुले मासिक १५ हजार सम्म आम्दानी लिने गरेका छन् ।‘घरखर्च चलाउनका लागि आम्दानी हुने गरेको छ ।’समूहमा आवद्ध दुना टपरी बनाउँदै आएकी सूर्यमाया राईले भनिन् ,‘घरको काम पनि गर्न भ्याईने वनमा गएर पात टिपेर ल्याउन नि भ्याईने ।’
सूर्यमाया मात्रै होईन समूहमा आवद्ध हिरा विश्वकर्मा , सुकुमाया दनुवारले पनि पात टिपेर दुना टपरी बनाएर एकवर्षदेखि घरखर्च चलाईरहेका छन् । ‘मासिक १२ देखि १५ हजार सम्म कमाउने गरेका छन् ।’समूहका अध्यक्ष राईले भने ,‘सालको पातको दुना टपरीको बजार राम्रो रहेको छ ।’
अध्यक्ष राईका अनुसार सालको पातको दुना टपरी लिन गाउँमा विभिन्न बजारबाट व्यापारीहरु आउने गरेका छन् । कागजको प्लेट प्रति पाँच छ रुपैंया पर्ने गरेकोमा उनीहरुले सालको पातको दुना टपरी तीन चार रुपैंया प्रतिगोटा वेच्ने गरेका छन् ।
समूहको बन क्षेत्रमा प्रशस्त सालको पात रहेको छ । त्यसै खेर जाने पातबाट महिलाहरुले आम्दानी लिने गरेका हुन् । समूहमा एकजार ९ सय ११ जनसंख्या रहेको छ । ३ सय ५६ घरपरिवार रहेको समूहको २ सय ८९ हेक्टर वन क्षेत्रमा सालको वन रहेको छ ।
समूहमा रहेको दर्जन महिलाहरुले नियमित पात टिप्ने र दुना टपरी बनाउने गरेका छन् । दुना टपरी निर्माण गर्नका लागि समूहले भवनसँगै संकलन केन्द्र निर्माण गरी दुना टपरी निर्माण गर्ने स्थान निर्माण गरेको छ । पछिल्लो समय प्रदुषणका कारण सालको पातमा लाग्ने धुलोले भने समस्या हुने गरेको महिलाहरु वताउँछन् । दुना टपरीका लागि सफा पात आवश्यक पर्ने गरेको छ ।
