
पूर्णपुष्टि, भदौ ८ । दक्षिण कोरियामा मृत्यु भएको उदयपुरको चौदण्डीगढी–५ बेल्हाका ३२ बर्षीय कमल चौधरीको शव नेपाल ल्याइएको छ । कतार एयरलायन्सको विमानर्फत नेपाल ल्याईएको उनको शव आफन्तले बुझेर त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगार बोर्डको शव बाहनामा घर लगिएको छ ।
एक वर्षअघि इपिएस परीक्षा उत्तीर्ण गरेर रोजगारीका लागि दक्षिण कोरिया गएका चौधरी विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमा अवस्थामा उपचाररत उनको अघिल्लो सोमबार मृत्यु भएको थियो । तर, बेहोस हुनुभन्दा एक महिनाअघि नै उनले काम गर्दै आएको कम्पनी छाडेका थिए ।
त्यसपछि नयाँ कामको खोजीमा सेल्टरमा बसिरहेको बेला अचानक बेहोस भएका चौधरीलाई प्रहरीले एम्बुलेन्समा अस्पताल पुर्याएको थियो । कोमा अवस्थामै उपचारको क्रममा उनको मृत्यु भएको थियो । उपचारको क्रममा उनको १६ लाख रूपैयाँ भन्दा बढी खर्च भएको थियो । बुबा बालक चौधरी र आमा भुथरीदेवी चौधरीका दुई छोराहरूमध्ये कमल जेठो छोरा हुन् । उनकी श्रीमती पनि छिन् ।
