
गाईघाट, फागुन १५ गते ।
चिनबाट फैलिएको कोरोना भाईरस (कोभिड–१९) का संक्रमणको जोखिम मोलेर नेपाली क्रिकेट टिम थाईल्याण्ड जाने भएको छ । आगामी शनिबारदेखि सुरु हुने एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकट प्रतियोगिताको लागि कोरोनाको जोखिम मोलेर नेपाली टोली विहिबार थाइल्याण्ड जाने भएको हो ।
उक्त प्रतियोगितामा चीन, भुटान र म्यानमारले सहभागिता नजनाउने निर्णय गरिसकेको छ । थाइल्याण्डमा ४० जनामा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ भने २५ जनाको मृत्यु भईसकेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएको छ ।
नेपाली क्रिकेट टिमलाई कोरोनाबाट बच्न सावधानी अपनाउन नेपाल क्रिकेट संघ (क्यान) ले आग्रह गरेको द्ध भने खेल मैदान र होटेल भन्दा बाहिर नजान खेलाडीहरुलाई सुझाव दिनुभएको छ । शनिबारदेखि मार्च ६ सम्म संचालन हुने प्रतियोगितामा सहभागी हुन १४ जना खेलाडी, अफिसियल, फिजियोसहित १८ जना थाइल्याण्ड जाने भएको संघले जनाएको छ ।
नेपालले पहिलो खेल शनिबार मलेसियासँग खेल्नेछ । नेपालसहित थाइल्याण्ड, मलेसिया, सिङ्गापुर र हङकङ सहभागी हुने प्रतियोगितामा नेपालले मार्च १ मा हङकङ, मार्च ४ मा थाइल्याण्ड र मार्च ६ मा सिङ्गापुरसँग खेल्नेछ । उक्त प्रतियोगीतामा शीर्ष दुई टोली एसिया कपका लागि छनोट हुनेछन् ।
