
फागुन १५ गते ।
बरामद गरेको सुन बाँडिचुडी खाएको आरोपमा प्रहरी निरिक्षकसहित १६ जना प्रहरीलाई निम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिफारिस गरेको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई आयोगले निलम्बन गर्न सिफारिस गरेको हो ।
प्रहरीले गत पुस ११ गते नेपाल–चीन सिमाना केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनरका चालक फुर्वा पासाङको साथबाट चार सय २२ ग्राम सुन बरामद गरेको थियो । उक्त सुन आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउनुपर्नेमा आपसमा बाँडफाँड गरी लिएको आरोपमा उनीहरुलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको आयोगले जनाएको छ ।
सई भोजबहादुर सेन वली, असई रामशरण कुमाल, हवलदारहरु रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर लो तामाङ र प्रहरी जवानहरु युवराज खरेल, शिवनारायण चौधरी, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान र ताराबहादुर प्रजा तथा प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठलाई निलम्बन गर्न आयोगले सिफारिस गरेको छ ।
पदमा बहाल रहँदा आफु विरुद्धको प्रमाण नष्ट गर्न सक्ने र अनुसन्धानमा बाधा र्पुयाउन सक्ने भएकाले निलम्बन गर्न सिफारिस गरेको आयोगले जनाएको छ ।
