Monday, June 22News That Matters

कोरोना नियन्त्रणको खर्च विवरण सार्वजनिक

पूर्णपुष्टि, जेठ ३१ गते ।

कोरोना रोकथाम तथा नियन्त्रणमा करिब साढे ८ अर्ब रुपैयाँ खर्च भएको विवरण सरकारले सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडा र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संसदमा कोरोना रोकथाम र नियन्त्रणको लागि १० अर्ब रुपैयाँ खर्च  भएको जानकारी दिएपछि सांसदहरुले खर्चको विवरण माग गरेका थिए ।  १० अर्ब रुपैयाँ कहाँ गयो भनेर अहिले सडकमा पनि आन्दोलन भइरहेको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीले अहिलेसम्म ८ अर्ब  ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।

संघिय सरकारले ४ अर्ब १० करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ । यसबाट स्वास्थ्य सामग्री खरिदमा ३ अर्ब ९० करोड ८८ लाख  रुपैयाँ, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार, क्वरेन्टिनमा १३ करोड ५५ लाख १८ हजार र अन्यमा ४० करोड १५ लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै सात वटै प्रदेश सरकारले १ अर्ब ३० करोड ४ लाख रुपैयाँ खर्च भएको र ७ सय ५३ वटा पालिकाहरुले २ अर्ब ९८ करोड ५१ लाख १४ हजार रुपैयाँ खर्च गरेका छन् ।

कोरोना कोषमा ४ अर्ब ८३ करोड २७ लाख १५ हजार रुपैयाँ जम्मा भएको छ ।