
पूर्णपुष्टि/जेष्ठ, ३
विश्वभर फैलिएको कोरोना अहिले भारतमा हजारौँको संख्यामा दिन प्रतिदिन बढ्दै गइरहेको छ । हिजो शुक्रबार एक दिनमै भारतमा ३,५४९ जनामा संक्रमण फेला परेको थियो । यो भारतको अहिलेसम्मकै उच्च दर पनि हो ।
शुक्रबार राति १० बजेसम्मको तथ्यांकअनुसार भारतमा ८५,५४६ जनामा संक्रमण पुष्टि भएको छ । भारतले चिनलाइ पनि पछि पार्दै संक्रमणको स्थानलाई उच्च बनाइसकेको छ । चीनमा पनि अहिलेसम्म ८२,९३३ जना मात्र संक्रमित छन् ।
भारतमा पछिल्लो समय दिनकै हजार(दुई हजारका दरले संक्रमित बढ्दै गएको पाइन्छ । चीनमा भने दैनिक चार–पाँच जना मात्र नयाँ बिरामी फेला परेका छन् । यस आधारमा भारतमा संक्रमित संख्या अझ बढ्दै जाने देखिन्छ ।
चीनको वुहानमा गत वर्ष डिसेम्बर अन्त्यमा कोरोना भाइरसको पहिलो बिरामी फेला परेको थियो । नयाँ वर्षको सुरूआतसँगै यो भाइरसले पूरै चीनलाई आफ्नो चपेटामा लियो । त्यसपछि दक्षिणपूर्वी एसियाको कोरिया र सिंगापुर तथा मध्यपूर्वको इरानतिर फैलियो । त्यहाँबाट युरोपका इटाली, बेलायत, स्पेन, फ्रान्समा आफ्नो प्रभाव देखाउँदै पछिल्लो समय अमेरिका संसारकै महामारी केन्द्र बनेको छ ।
भारतमा पहिलो कोरोना मृत्यु मार्च १३ मा भएको थियो । त्यति बेलासम्म ७४ जना मात्र कोरोना बिरामी फेला परेका थिए । त्यसको १२ दिनपछि मार्च २५ बाट भारतले देशव्यापी लकडाउन सुरू गरेको हो, जुन अहिलेसम्म जारी छ ।
