
पूर्णपुष्टि, असोज १९
कोरोना भाइरस सङ्क्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट बाहिर निस्केर समर्थकलाई अभिवादन गरेपछि फेरि एक पटक विवादित बन्नुभएको छ ।
राष्ट्रपति ट्रम्पलाई कोरोना सङ्क्रमित भएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत ट्रम्प गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेकाले विवादित बन्नुभएको हो ।
सङ्क्रमित भएर स्वास्थ्यमा समस्या देखिएपछि रेमडेसिभिरसहितका औषधि दिइएका तथा अक्सिजन लेभल पनि कम भएका ट्रम्पले गुप्तचर सेवाको गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गर्नुभएको अन्तराष्ट्र्रिय संचारमाध्यमले जनाएको छ ।
गाडीमा रहेका उहाँले मास्क लगाउनुभएको थियो । गाडी चलाउनेहरुको सुरक्षा तथा कोरोना भाइरसबाट सङ्क्रमित भएको व्यक्तिले बाहिर यसरी आउनु उपयुक्त नहुने भन्दै आलोचना भएको छ । ह्वाइट हाउसले भने डाक्टरहरुको स्वीकृतिमा राष्ट्रपति ट्रम्प केहीबेरका लागि गाडीमा बाहिर निस्किएको बताएको जनाईएको छ ।

