
पूर्णपुष्टि, बैशाख १८ गते ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमित १० लाखभन्दा बढी निको भएका छन् ।
विश्वका दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३२ लाख १८ हजार जनाभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । सोही मध्ये १० लाख ३३ जना निको भएको वल्डोमिटरले जनाएको छ । संक्रमितमध्ये १९ लाख ९० हजारभन्दा बढीको उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न देशमा साढे ६ हजारभन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म भाइरसको संक्रमणबाट दुई लाख २८ हजारभन्दा बढीको मृत्यु भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै २३ सयभन्दा बढीको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या साढे ६१ हजार पुगिसकेको छ । यस्तै १० लाख ६३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
यस्तै इटलीमा साढे २७ हजारभन्दा बढी, बेलायतमा २६ हजारभन्दा बढी, स्पेन र फ्रान्समा २४ हजारभन्दा बढीको मृत्यु भएको छ ।
भारतमा ३३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने एक हजारभन्दा बढीको मृत्यु भएको छ ।
