
पूर्णपुष्टि, साउन १९ । कोशी प्रदेशको झापा, मोरङ र धनकुटा जिल्लाबाट प्रतिवन्धित लागू–औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिषेश सुचनाको आधारमा विभिन्न स्थानबाट लागुऔषध सहित ५ जनालाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रवक्ता (प्रहरी उपरीक्षक) दिपक पोखरेलका अनुसार इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका–५ का २९ बर्षीय राजेन्द्र कुमार ताजपुरीया र शिवसताक्षी–४ का २१ बर्षीय अजय ताजपुरियालाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर–१५ स्थितबाट सुनसरी बराहक्षेत्र नगरपालिका–७ का ३२ बर्षीय मनोज बस्नेतलाई ३ ग्राम १०० मिलिग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय राजारानी धनकुटाले चौबिसे गाँउपालिका–६ का मुकेश बिश्वकर्मा र दिवश राईलाई २ किलोग्राम गाँजा सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका ५ जनाकै सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ
